NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भारतमा लगातार नवौं दिन ३ लाखभन्दा बढीमा संक्रमण

नयाँदिल्ली । भारतमा एकैदिन ३ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ३ लाख ८६ हजार ६९३ जना संक्रमित थपिएका हुन् । यो संख्या बुधबारको भन्दा ७ हजारले बढी हो । भारतमा एकै दिन ३ लाखभन्दा बढीमा संक्रमण देखिएको यो लगातार नवौं दिन हो । अप्रिल २१ मा पहिलो पटक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । यहाँ कुल संक्रमितको संख्या १ करोड ८७ लाख नाघिसकेको छ । पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ३ हजार ५०२ जनाको मृत्यु भएको छ । बुधबार यो संख्या ३ हजार ६४५ थियो । एकै दिन ३ हजारभन्दा बढीको मृत्यु भएको यो लगातार तेस्रो दिन हो । गत अप्रिल २७ मा पहिलो पटक ३ हजारभन्दा बढीको एकैदिन मृत्यु भएको थियो । कोरोनाकै कारण हालसम्म २ लाख ८ हजार ३३० जनाको मृत्यु भइसकेको छ । बिहीबार नै २ लाख ९७ हजार ५४० संक्रमित निको भएका छन् । ३१ लाख ७० हजारभन्दा बढी सक्रिय संक्रमित छन्, जुन कुल संक्रमितको झन्डै १७ प्रतिशत हो । यस्तै, कुल संक्रमितमध्ये झन्डै ८२ प्रतिशत अर्थात् १ करोड ५३ लाखभन्दा बढी निको भइसकेका छन्। कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि भारतमा जारी छ । मन्त्रालयका अनुसार हालसम्म १५ करोड २२ लाख ४५ हजार १७९ जनाले खोप लगाइसकेका छन् । भारतमा हाल कोभ्याक्सिन, कोभिसिल्ड र स्पुतनिक-भी खोपको प्रयोग भइरहेको छ ।