NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

‘स्पुतनिक–भी’ छिटो उपलब्ध गराइदिन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्पुतनिक–भी’ छिटो उपलब्ध गराइदिन रुसी राजदूतलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड– १९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए । औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस