NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

पीपीई लगाएरै नेपाल-चीनका अधिकारीले गरे मितेरी पुलमा डेढ घन्टा छलफल

काठमाडौं । कोरोना संक्रमणको अवस्था, यसको रोकथाम र तयारीबारे नेपाल र चीनका अधिकारीबीच रसुवागढी नाकामा छलफल भएको छ । बिहीबार दिउँसो नेपाल-चीन सीमास्थित मितेरी पुलमा भएको छलफलमा दुवै देशका अधिकारीहरु आमनेसामने भएर बसेका थिए । छलफलमा सहभागी दुवैतर्फका अधिकारीले कोरोना संक्रमणबाट बच्न पीपीई सेट, फेससिल्डलगायत लगाएका थिए । चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न खोजेपछि द्विपक्षीय वार्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । छलफलमा दोभाषेसहित दुवैतर्फबाट ६/६ जना अधिकारी सामेल थिए । नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व जिलोङ (केरूङ) पोर्ट एडमिनिस्ट्रेसनका निर्देशक दा चुनले गरेका थिए । तस्बिर : अनिल गिरीको ट्विटर प्रजिअ ढकालका अनुसार दुई पक्षबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो । त्यस क्रममा चिनियाँ पक्षले रसुवामा कोरोनाको अवस्था, नाकामा आउने चालकहरूले कोरोनाविरुद्धको खोप लगाए-नलगाएको बारेमा सोधेका थिए । त्यसबारे नेपाली पक्षले जवाफ दिएको थियो । रसुवामा हाल २१ जना सक्रिय संक्रमित छन् । २०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापारको मुख्यमार्ग रसुवागढी भएको थियो । तर कोरोना महामारी सुरु भएपछि यो नाकामा समेत चहलपहल घटेकाे छ । अहिले केरूङबाट दैनिक १२-१३ कन्टेनर सामान नेपाल भित्रिने गरेका छन् ।