NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

विश्व कीर्तिमान राख्न कालापत्थरमा स्ट्यान्डअप कमेडी

काठमाडौं । ‘नेपग्याजम कमेडी’ समूहले सोलूखुम्बुस्थित कालापत्थरमा पुगेर स्ट्यान्डअप कमेडी प्रस्तुत गर्ने भएको छ । सर्वाधिक उचाइमा स्ट्यान्डअप कमेडीको विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम आगामी वैशाख २० मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको फेद कालापत्थरमा हुनेछ । यसअघि यही विधामा इटालियन नागरिक पाउलो फ्रानसेस्चिनीले २५ अप्रिल २०१९ मा सगरमाथा आधारशिविर (५,२७० मिटर) मा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका थिए । नेपग्याजमले पाउलोको यो रेकर्ड तोड्न कालापत्थर (५,६४३ मिटर) मा स्ट्यान्डअप कमेडी प्रस्तुत गर्न लागेको हो । त्यसका लागि समूहले आफ्ना दुई स्टयान्डअप कमेडियनलाई प्रस्तुत गर्ने बताएको छ । कार्यक्रमका लागि नेपग्याजमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट अनुमति पाइसकेको जनाएको छ । ‘नेपग्याजमका संस्थापक कलाकारद्वय उमेरकुमार गौतम (युकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरो) ले स्ट्यान्डअप कमेडी प्रस्तुत गर्नेछन् । उनीहरुले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको ३०/३० मिनेटको कमेडी प्रस्तुत गर्ने तयारी छ,’ नेपग्याजमका संस्थापक निर्देशक सरद श्रेष्ठले भने, ‘हामी उत्साहित छौं, नेपाली हास्यव्यङ्ग्यको स्तर अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा पुर्‌याउनु हाम्रो उद्देश्य हो ।’ प्रदुषणरहित विश्व समाजको सन्देश बोकेको यस कार्यक्रमका लागि ८ जनाको टोली सिम्रिक एयरको हेलिकोप्टरमार्फत् कालापत्थर पुग्ने र त्यहाँ कमेडी पस्किने उनले बताए । यसका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको पनि उनले बताए । कलाकार गौतमले विश्वकै अग्लो भू-भागमा प्रस्तुति दिने कुरा आफ्नो लागि मात्रै नभई सबै नेपालीका लागि गर्वको कुरा भएको बताए । कोरोना महामारीका बीच विश्वलाई हँसाउने चाहना रहेको बताउँदै उनले भने, ‘कठिनाइ भएपनि नेपालीको माया नै हाम्रो लागि अक्सिजनझैं भएको छ ।’ सबैको साथ सहयोगले आफूहरुको मनोबल उच्च भएको उनको भनाइ छ । अर्का कलाकार त्रितालले कोरोना, राजनैतिक खिचातानी, बेरोजगारीजस्ता समस्याले तनावपूर्ण अवस्थामा केही सुखद समाचार दिऊँ भन्ने चाहनाका साथ प्रस्तुति दिन लागेको बताए । कार्यक्रमको मुख्य प्रायोजक अस्ट्रेलियास्थित अल्टिमेट इन्स्टिच्युट अफ अस्ट्रेलिया र निन्जा रहेका छन् । इन्स्योरेन्स पार्टनर सूर्या लाइफ इन्स्योरेन्स, हेलिकोप्टर पार्टनर सिम्रिक एयर हुन् भने सह-प्रायोजन जगदम्बा मोटर्स् र एमएनटीभी अस्ट्रियाले गरेका छन् ।