NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

चार सांसदमाथिको कारबाही अवैध भन्दै निर्वाचन आयोग पुगे महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा सांसदमाथि गरिएको कारबाही अवैध भएको भन्दै निर्वाचन आयोगमा पत्र पठाएका छन् । शंकर पोखरेललाई साथ दिएका चार सांसदलाई जसपा कार्यकारिणी बैठकले पार्टी सदस्य र सांसदबाट निष्काशन गरेको थियो । तर, अध्यक्ष ठाकुरले पनि उक्त कारबाही आधिकारिक नभएको दाबी गरेका छन् । शुक्रबार ध्यानाकर्षणपत्र बुझाउन आफैं निर्वाचन आयोग पुगेका नेता ठाकुरले गैरकानूनी पत्रलाई आधार मानी कुनै पनि काम कारबाही अघि नबढाउन लिखित आग्रह गरेका छन् । ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक २०७७ पुस ७ गतेपछि हालसम्म नबसेको भन्दै लुम्बिनी प्रदेश सचिवालयको सूचनापत्रमा उल्लेखित चार सांसदको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध रहेको बताएका छन् । ठाकुरले गैरकानूनी पत्र एवं सोसँग सम्बन्धी अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानूनी प्रक्रिया अघि बढाइने आयोगलाई जानकारी दिएका छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक नबसेको र बोलाउन समेत कुनै सूचना जारी नगरेको बताएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको निर्णय भनेर पठाएको पत्रका आधारमा प्रदेश सभाले सन्तोषकुमार पाण्डेय, विजयवहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरेको थियो ।