NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्वास्थ्य मापदण्ड नमान्ने आठ हजारलाई कारबाही, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह

काठमाडौं । सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरेका आठ हजार २४ जनालाई प्रहरीले कारबाही गरेको छ । प्रहरीले उनीहरुलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारबाही गरेको हो । उनीहरुलाई उल्लंघनको मात्रा हेरेर जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँड्ने १६ हजार ६ सय ६४ जनालाई निःशुल्क वितरण गरिएको छ । मास्क नलगाई हिँडडुल गर्ने ४५ हजार ७ सय ७७ जनालाई होल्डिङ जोनमा राखी सम्झाएर छाडिएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रहीले कारबाही अभियानसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । जनताले सरकारी आदेशको उल्लंघन गरी जथाभावी रुपमा हिँडडुल गरेपछि सचेतनामूलक कार्यक्रम गरी सुझाव दिने गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले ठाउँठाउँमा प्ले कार्डसमेत प्रदर्शन गरेको तथा बटुवालाई भेटेरै मास्क लगाउन, सावधानी अपनाउन तथा अत्यावश्यक काम नपरी बाहिर ननिस्किने शर्तमा घर पठाउने गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए । उनकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर सम्पन्न भएका ५ सय १८ वटा सचेतनामूलक कार्यक्रममा ६८ हजार ५ सय ६७ जना प्रहरी सहभागी भएका छन् । नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण बढ्दै गएका सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि अभियान चालिएको उनले बताए । नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायत कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायत सरोकार पक्षसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिइएको प्रवक्ता कुँवरले बताए ।