NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आजका ‘गुड न्युज’ : काठमाडौंमा निःशुल्क एम्बुलेन्स, रुकुममा अक्सिजन प्लान्ट

काठमाडौं । शुक्रबार दिनभर संघीय संसद्को चौथो ठूलो दल जसपा चर्चामा रह्यो । विभाजनउन्मुख जसपाको अंकगणितलाई सञ्चारमाध्यमले ठाउँ दिए । त्यसबाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको पत्रकार सम्मेलनले पनि चर्चा पायो । साँझपख नेपाली सेनाले १५ वर्षअघि दुर्घटनाग्रस्त एयर डाइनास्टीको हेलिकप्टरको अवशेष धौलागिरि हिमालमा भेटेको समाचारले स्थान पायो । कोरोना प्रसार रोक्न विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएका समाचार पनि चर्चामा रहे । तर, केही यस्ता समाचारले पाठकको ध्यान ताने, जसले महामारीबीच नागरिकमा सकारात्मक ऊर्जा सञ्चार गराउँछन् । (१) काठमाडौं महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा स्वास्थ्य मन्त्रालयले शुक्रबार नै विज्ञप्तिमार्फत महामारीको जोखिम अत्यधिक बढेकाले सचेत रहन आग्रह गरेको थियो । कोरोना सन्त्रासबीच काठमाडौंवासीलाई केही राहत दिने समाचार आयो, काठमाडौं महानगरपालिकाबाट । महानगरले पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा–३ कार्यालय परिसर महाराजगञ्ज, वडा–१५ परिसर स्वयम्भू र वडा–७ परिसर मित्रपार्कमा दुई–दुईवटा एम्बुलेन्स चौबीसै घण्टा तैनाथ गरिएका छन् । ती एम्बुलेन्स कोरोना संक्रमण नभएका बिरामीका लागि हुन् । महामारीका बेला गैरकोभिड बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर महानगरले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो । कोरोना संक्रमितका लागि यसअघि नै ‘नेपाल एम्बुलेन्स सेवा’ सञ्चालनमा छ, जुन १०२ मा फोन गरेर बिरामीले लिन सक्छन् । गैरकोभिड बिरामीले पनि घरबाट अस्पताल, अस्पतालबाट घर र एउटा अस्पतालबाट अर्कोमा जाने सुविधा पाउने छन्, शुक्रबारदेखि सुरु भएको सेवाबाट । यो सेवाका लागि महानगरले ‘संयुक्त एम्बुलेन्स चालक संघ’सँग सम्झौता गरेको छ । सेवाबापत महानगरले १५ दिनका लागि प्रतिएम्बुलेन्स एक लाख २१ हजार रुपैयाँ भुक्तानी दिनेछ । र, संघले १५ दिनका लागि चौबीसै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ । शुल्क महानगरले भुक्तानी गर्ने भएकाले बिरामीसँग एम्बुलेन्स सञ्चालकले थप रकम माग्न र मोलमोलाइ गर्न पाउने छैनन् ।यो सुविधा महानगरबाट दुई किलोमिटर दूरीसम्मका लागि मात्रै हो । तर, डायलासिस र क्यान्सर रोगीको हकमा त्यसभन्दा टाढा पनि जानुपर्नेछ । उक्त सेवा लिन सेवाग्राहीले महानगरपालिकाको हटलाइन नम्बर ११८० वा एम्बुलेन्स चालकसँग सीधै सम्पर्क पनि गर्न सक्ने छन् । (२) रुकुमपश्चिममा अक्सिजन प्लान्ट सीधै श्वासप्रश्वासमा आक्रमण गर्ने भएकाले कोरोना भाइरसबाट बच्न अक्सिजन निकै महत्त्वपूर्ण स्वास्थ्य सामग्री बनेको छ । संसारभर अक्सिजनको माग ह्वात्तै बढेको छ । छिमेकी मुलुक भारतमा अक्सिजनको अभाव कति चर्को बनेको छ भन्ने सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जानकारी प्राप्त भइरहेकै छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिँदो अवस्थामा रहेकाले अक्सिजनको सहज उपलब्धता पेचिलो बन्दैछ । यही सन्दर्भमा दुर्गम जिल्ला रुकुम पश्चिममा अक्सिजन प्लान्ट स्थापनाको तयारी भइरहेको समाचार आयो, शुक्रबार । जिल्लाका कोरोना संक्रमितको उपचारका लागि प्लान्ट स्थापना गर्ने तयारी सुरु भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, जिसस प्रमुख, पालिका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी र चिकित्सकहरू सहभागी बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो । निर्णयअनुसार हरेक पालिकामा कम्तिमा २० वटा आइसोलेसन बेड तयार गरिनेछ । र, चौरजहारी अस्पतालमा एक सय र जिल्ला अस्पतालमा ५० बेड थपिने छन् । यस्तै, हरेक पालिकाले कम्तिमा १० वटा अक्सिजन सिलिन्डर, २० वटा अक्सिमिटर र २० वटा अक्सिजन कन्सन्ट्रेटरको तत्काल व्यवस्थापन गर्ने भएका छन् । एम्बुलेन्स र शव बाहनका चालकलाई प्रोत्साहन भत्ता पनि दिइने छ । (३) कैलालीमा स्वास्थ्यकर्मीलाई ‘पोर्टेबल भेन्टिलेटर’ कैलालीका सुमन पौडेल (२६ वर्ष)ले ‘पोर्टेबल माइक्रो भेन्टिलेटर’ निर्माण गरेका छन् । प्रविधि अनुसन्धानकर्ता उनी काइचो ग्रुपका सदस्य तथा घोडाघोडी नगरपालिका–१० पहलमानपुरका बासिन्दा हुन् । पीपीई सेट लगाएर कोरोना संक्रमितको उपचारमा लामो समय खट्दा स्वास्थ्यकर्मीलाई सास फेर्न सहज होस् भनेर यो उपकरण निर्माण गरेको पौडेलले बताएका छन् । पीपीई लगाएर लामो समय खट्नुपर्ने स्वास्थ्यकर्मीलाई स्वच्छ हावा प्राप्त गर्न यो उपकरणले मद्दत गर्नेछ । उपकरणमा हावा फिल्टर गर्न ‘एन–९५’ मास्कको प्रयोग गरिएको छ । ब्याट्रीबाट चल्ने यो उपकरण एकपटक चार्ज गरेपछि चार घण्टासम्म प्रयोग गर्न सकिन्छ । (४) महामारीबीच सगरमाथामा हालसम्मकै बढी आरोही कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागले शुक्रबार जारी गरेको आरोहण अनुमति सूचीअनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । र, ती समूहबाट चार सय आठजनाले आरोहण अनुमति पाएका छन् । तीमध्ये ९३ महिला र तीन सय १५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।