NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकार एक्लैले कोरोना संक्रमण नियन्त्रण गर्न सक्दैन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्ने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीहरुसँग बोल्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने बताएका हुन् । ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ । त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ । हामी आफै जवाफदेही भएर अगाडि बढ्न जरुरी छ,’ उपप्रधानमन्त्री पोखरेलले भने । सरकारले वैैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए । ‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो । यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘आमनागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ । जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।’ उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रवन्ध गरेको जानकारी दिए । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए । १८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।