NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

देउवाको सरकारसँग माग : श्रमिकका लागि तत्काल राहतको कार्ययोजना ल्याइयोस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणका कारण मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै कोरोनाको बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले निषेधाज्ञाका कारण आर्थिक–सामाजिक मारमा परेका नागरिक, श्रमिक र साना व्यवसायीको जीवन कष्टकर बन्दै गएकाले आवश्यक राहतको कार्ययोजना ल्याउन सरकारसँग माग गरेका हुन् । उनले संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको र बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको बताउँदै यस्तो परिस्थिति आउनामा सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले नेपालमा विसं २००३ मा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको स्मरण पनि गरेका छन् । तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ सालको ऐतिहासिक जनक्रान्तिको प्रस्थानविन्दु त्यही आन्दोलन थियो । उनले कांग्रेस र मजदूर सधैँ एकअर्कामा आबद्ध भएर एकअर्काका अनन्य सहयोगी भएर रहिआएको जनाउँदै अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना पनि व्यक्त गरेका छन् ।