NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

किन रोकिएको छैन भारतीय नागरिक नेपाल हुँदै विदेश जाने क्रम ?

काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन शुक्रबार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षतर्फ लामबद्ध थिए भारतीय नागरिक । लाइनदेखि केही पर एकै झुण्डमा भेटिए बिहारका मोहम्मद अ‍ैयुव, एमडी जाभेद र विमलेश अली । उनीहरू तीनैजना एकै गाउँका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा विगत केही वर्षदेखि उनीहरु साउदी अरबमा थिए । सवारी चालकको काम गर्दै आएका उनीहरु गत वर्ष महामास् पर्व मनाउन घर (भारत) फर्किएका हुन् । तर घर आइपुगेकाे केही महिनामै कोरोना संक्रमणले विकराल रुप लियो । जसले गर्दा न उनीहरुको घर बसाइँ सहज हुन सक्यो, न फेरि साउदी फर्किन नै सके । भारतले विश्वमा कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ दाता को रुपमा छवि बनाउन सुरु गरेको केही महिना पनि भएको थिएन । भाजपा सरकारले यो कामको पूरा श्रेय लिन नपाउँदै भारत कोरोना महामारीको चपेटामा परेको छ । दिनमै ४ लाखभन्दा बढी संक्रमित भेटिन थालेका छन् । एउटै शय्यामा ३/४ जनासम्म र भुइँमै राखेर बिरामीको उपचार भइरहेको छ । अस्पतालमा बेड तथा जरुरी स्वास्थ्य सामग्रीहरु अक्सिजन, औषधिलगायत अभावमा मानिसहरुको मृत्युको आँकडा बढ्दो छ । शब जलाउन समेत घन्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । दैनिक मृतकको संख्या बढेसँगै विभिन्न स्थानमा दाहसंस्कार स्थलसमेत थप गरिएको छ । भारतमा स्वास्थ्य प्रणाली नै फेल भएको रुपमा अर्थ्याइएको छ । कोरोना ‘सुनामी’ कै रुपमा आएपनि अ‍ैयुव, जाभेद र अलीजस्ता धेरै श्रमिक परिवारबाट टाढा विदेशी भूमिमा पसिना बगाउन जान बाध्य छन् । जाभेदकी श्रीमती गर्भवती छिन् । श्रीमान्‌को साथ चाहिने यो विशेष समयमा पनि छोडेर जानु परेकोमा उनी दुःखी छन् । जाभेदलाई लागेको छ, पैसा छ भने आमाबाबु, श्रीमती, छोराछोरी सबै आफ्ना हुन्छन्, पैसा छैन भने कोही आफ्ना हुँदैनन् । ‘मुखमा माड हाल्नका लागि पैसा नभएपछि श्रीमतीसँग बस्नुको मात्रै के औचित्य ?,’ जाभेदको आडैमा रहेका अली सही थप्छन्, ‘कमसेकम विदेश गएर कमाइयो भने त्यो बच्चाको भविष्य त राम्रो हुन्छ ।’ भविष्य राम्रो बनाउने सोचेर घरबाट निस्किएका उनीहरु ३ महिनासम्म पनि गन्तव्य मुलुक पुग्न पाएका छैनन् । साउदी पुग्ने बहानामा उनीहरूले दुबई र नेपालको चक्कर काटिसकेका छन् । सामान्य अवस्थामा भारतबाट २० देखि ३० हजार भारुमा ४ घण्टाको उडानबाटै साउदी पुग्न सकिन्छ । तर महामारीका कारण सोझै साउदी पुग्न नपाउँदा उनीहरुको लाखौं खर्च भइसकेकाे छ । त्यो सबै पैसा साथीभाइबाट ऋणमा लिएका हुन् । उता पुगेर कमाएपछि फिर्ता गर्ने शर्तमा । अलि भन्छन्, ‘यत्तिका खर्च भयो । बरु यही पैसाले देशमै केही व्यवसाय थालेको भएपनि हुने रहेछ ।’ होटल क्वारेन्टाइन, हवाई टिकट, एजेन्टलाई बुझाएको गरी आफ्नो मात्रै लाखभन्दा बढी भारु खर्च भइसकेकाे उनले सुनाए । कोरोना महामारीका कारण भारतबाट साउदीसँग सिधा उडान अवरुद्ध भएकोले उनीहरु दुबई पुगे । तर दुबईमा पनि कोरोनाकै कारण साउदीतर्फका सबै उडान बन्द भए । लामो समयसम्म दुबईमा बस्दा पनि साउदी जाने उडान नखुलेपछि उनीहरु नेपाल आएका हुन् । यहाँबाट पनि आउनेबित्तिकै साउदी उड्ने वातावरण बनेन । १४ दिन होटल क्वारेन्टाइन बसेर शुक्रबार विमानस्थलमा साउदी जाने लाइनमा थिए उनीहरु । अलीले अन्ततः साउदी जान दिएकोमा नेपाल सरकारलाई धन्यवादसमेत दिए । ‘हामी आज साउदी जान नपाउने हो भने त बिजोग हुन्छ । आशा छ जान पाउँछौं । नेपाल सरकारप्रपति धेरै आभारी छौं,’ उनले भने । विमानस्थल आइपुगे पनि सहजै गन्तव्य स्थानसम्म पुग्न पाइनेमा भने उनीहरु ढुक्क थिएनन् । साउदी झरेपछि पनि पीसीआर परीक्षण हुने भएकोले उडानका क्रममा संक्रमित भइएला कि भन्ने डर लागेको अलीले सुनाए । 000 प्रश्थान कक्षको लाइनमै उभिएका सीताराम कुमावत पनि साउदी जाँदै थिए । राजस्थानका कुमावत पनि बिदामै घर फर्किएका हुन् । अहिले नेपाल हुँदै साउदी फर्किन उनले १६ दिन होटल क्वारेन्टाइनमा बिताउनुपर्‌यो । अन्ततः नेपालबाट भएपनि साउदी जान पाएको भन्दै उनले पनि नेपाल सरकारलाई धन्यवाद दिए । 000 सरकारले गत २८ मे बाट नेपाललाई ‘ट्रान्जिट’ को रुपमा प्रयोग गरेर तेस्रो मुलुक जान रोक लगाइसकेको छ । यद्यपि नेपाललाई नै अन्तिम गन्तव्य बनाएर भने विदेशीहरू नेपाल आउन पाउँछन् । अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकाल अहिले नेपाली भूमिबाट विदेशिने भारतीयहरू उक्त नियम लागू हुनुअगावै यहाँ आएको दाबी गर्छन् । ‘हिजो-आज उड्नेहरु ट्रान्जिट बन्द गर्नुभन्दा अगावै आएकाहरू हुन्,’ उनले भने, ‘उक्त मिति अगावै आएकाहरु पनि क्वारेन्टाइनमा पूरा अवधि बसेर तेस्रो मुलुक जान पाउँछन् ।’ तर २८ मेयता कोही पनि विदेशी नेपाल आएर क्वारेन्टाइन बसेर तेस्रो मुलुक जान भने नपाउने उनले स्पष्ट पारे । बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै गत ३ फेब्रुअरी मा साउदीले भारतसहितअन्य १९ देशसँगको हवाई सेवा रोकेको थियो । भारतबाट जान नपाइने भएपछि भारतीय नागरिकहरू नेपाल हुँदै तेस्रो मुलुक गइरहेका हुन् । अध्यागमन विभागको तथ्यांकअनुसार मार्च महिनाभर १३ हजार भारतीय नेपाल प्रवेश गरेका छन् भने नेपालबाट बाहिरिनेको तथ्यांक ११ हजार २ सय छ । त्यसमा अधिकांश नेपाल हुँदै साउदी गएका छन् ।