NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिँदा संक्रमण भए उपचार खर्च व्यहोर्ने प्रदेश २ सरकारको निर्णय

जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारमा खटिएका जनशक्ति सङ्क्रमित भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएको छ । कोरोनाको दोस्रो लहर भयावह रूपमा बढेपछि आइतबार बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले भविष्यमा बढ्न सक्ने सङ्क्रमितको चापलाई दृष्टिगत गरी प्रदेशभित्रका निजी अस्पताललाई नेपाल सरकारको मापदण्डबमोजिम सम्झौता गरी सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा रहेको समितिलाई जिम्मेवारी दिनेसमेत निर्णय गरेको छ । प्रदेशभित्र सञ्चालनमा रहेका सार्वजनिक तथा सामुदायिक अस्पतालको प्रयोगशालामा पीसीआर जाँच गर्न लगाउनेसमेत निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा मन्त्री, प्रमुख सचिवका साथै प्रदेशमा सचिव, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका पदाधिकारीहरुको उपस्थिति थियो। (रासस)