NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

आईपीएलमा पनि कोरोना असर, कोलकाताका २ खेलाडीमा संक्रमणपछि आजको खेल स्थगन

नयाँदिल्ली । कोरोना संक्रमणको असर इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि पर्न थालेको छ । १४ औं आईपीएलअन्तर्गत सोमबारका लागि तय कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचको खेल स्थगन भएको छ । उक्त खेल पछि खेलिने जनाइएको छ । कोलकाताका २ खेलाडीमा कोरोना संक्रमण पुष्टि र अन्य केही खेलाडी पनि बिरामी भएपछि आजको खेल स्थगन गरिएको हो । अहिले टोलीका सबै खेलाडी र कर्मचारीलाई आइसोलेसनमा राखिएको छ । खेलाडी बिरामी पर्न थालेपछि सुरक्षित तवरबाट प्रतियोगिता सञ्चालन गर्नेगरी बनाइएको आईपीएलको ‘बायो-बबल’ माथि पनि प्रश्न उठेको छ । यसअघि कोलकाताले खेलेका अन्य टोलीका खेलाडीको स्वास्थ्य सुरक्षामा समेत सन्देह व्यक्त गर्न थालिएको छ । कोलकाताले पछिल्लो खेल २९ अप्रिलमा दिल्ली क्यापिटल्सका विरुद्ध अहमदाबादमा खेलेको थियो । क्रिकेटसम्बन्धी अनलाइन पोर्टल ईएसपीएन क्रिकइन्फोका अनुसार कोलकाता नाइट राइडर्सका वरुण चक्रवर्ती केही दिनअघि मात्रै काँधको स्क्यान गर्न आईपीएलको बायो-बबलबाट बाहिर गएका थिए । त्यही क्रममा उनी भाइरसको चपेटामा परेको हुनसक्ने आशंका गरिएको छ । तर सुरुमा चक्रवर्तीसँगै कोलकाताका बाँकी खेलाडीको पीसीआर रिपोर्ट भने कोरोना ‘नेगेटिभ’ आएको दाबी गरिएको थियो । तर पछि वरुण चक्रवर्ती र सन्दीप वरियरमा संक्रमण पुष्टि भएको हो । अस्ट्रेलियाली तिव्र गतिका बलर प्याट क्युमिन्सको अवस्था गम्भीर रहेको टाइम्स अफ इन्डियाले स्रोतलाई उद्धृत गर्दै लेखेको छ । यसपछि नै आजको खेल स्थगन गरिएको हो । समाचार एजेन्सी एएनआईले भने बीसीसीआईका एक अधिकारीलाई उद्धृत गर्दै कोलकाताका खेलाडीमा कोरोना देखिएपछि बैंग्लोरले खेल खेल्न इन्कार गरेको लेखेको छ । ती अधिकारीले भनेका छन्, ‘वरुण र सन्दीपमा पोजिटिभ देखिएको छ । यस्तोमा बैंग्लोरको टोलीले खेल खेल्न चाहेको छैन ।’ यसअघि परिवारलाई कोरोना पुष्टि भएको भन्दै दिल्लीका रविचन्द्रन अश्विनले आईपीएलका बाँकी खेल नखेल्ने घोषणा गरेका थिए । उनी बाहेक अन्य २ खेलाडीसमेत कोरोनाकै कारण देखाउँदै घर फर्किएका थिए । भारतमा पछिल्लो पटक दिनमै ४ लाखभन्दा बढीमा संक्रमण देखिन थालेपछि आईपीएल रोक्नुपर्ने आवाज समेत उठिरहेको थियो ।