NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

भारतसँग सातामा दुई उडान, बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । सरकारले वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा यसबारे सोमबार दिउँसो थप प्रस्ट पारेको हो । नेपाली समयअनुसार, २३ गते बिहीबार राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । यस्तै, नेपाल र भारतबीच सातामा दुई उडान भने कायमै रहनेछ । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिबन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ । भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् । तर, त्यहाँबाट आउने यात्रुलाई भने अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।