NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मास्क नलगाउने १३ हजार जना होल्डिङ जोनमा

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निः शुल्क मास्क वितरण गरेको छ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि ‘तपाईंको मास्क खोइ ?’ कार्यक्रम चलाउँदै आएको प्रहरीले मास्क नलगाई हिँडेका जनतालाई मास्क वितरण गरेको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन प्रहरीले ‘संक्रमणबाट आफू बचौं र अरुलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खोइ ?’ लगायतका कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । अभियानको क्रममा पछिल्लो २४ घण्टामा मास्क नलगाई हिँडडुल गर्ने १३ हजार ६ सय २१ जनालाई होल्डिङ जोनमा राखी सम्झाई–बुझाई छोडिएको प्रहरीले जानकारी दिएको छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने ९ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा ३० हजार ६ सय ९० जना प्रहरी सहभागी भएका छन् । कार्यक्रममार्फत प्रहरीले कोभिडको जोखिम न्यूनीकरणका लागि देशका विभिन्न स्थानमा सचेतना सन्देशसहितको माइकिङ,सवारी साधनहरूको चेकजाँच गर्दै आमजनतालाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाका लागि अनुरोध गरेको छ ।