NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पूर्वी नवलपरासीका २ पालिकाले सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा

कावासोती । पूर्वी नवलपरासीका दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैंडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैंडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएका छन् । गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पुर्‌याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए । पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स निःशुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए । ‘सङ्क्रमितका लागि छुट्याइएको दुई एम्बुलेन्समध्ये एउटा नगरपालिका परिसरमा र अर्को अमरापुरीमा राखिएको छ,’ पौडेलले भने, ‘गर्भवतीका लागि सञ्चालन गरिएको एम्बुलेन्स भने पितौजीको बर्थिङ सेन्टरमा स्ट्यान्डबाई रहनेछ ।’ नगरपालिकामा राखिएको एम्बुलेन्स किसान साकोसको हो भने अमरापुरीमा यसअघिकै एम्बुलेन्सले सेवा दिने पौडेलले बताए । किसान साकोसको एम्बुलेन्स नगरपालिकाले भाडामा लिएर जनताको सेवाका लागि तयारी अवस्थामा राखेको हो । नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित ७ वटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी निःशुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए । एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए । सङ्क्रमण भएका बिरामीलाई अस्पताल पुर्‌याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे । त्यसैगरी, कावासोती नगरपालिकाले समेत सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । नगरभित्रका सङ्क्रमित कसैलाई समस्या परेमा नगरपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्सका चालकको मोबाइल नम्बर ९८४७०७४६३४ मा सम्पर्क गर्न सकिने नगर उपप्रमुख प्रेम शङ्कर मर्दनियाले बताए । नगरपालिकाले सङ्क्रमितको हेरचाह, स्वास्थ्य परामर्श र उपचारका लागि २० स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको मर्दनियाले जानकारी दिए । अक्सिजनसहितको आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीका लागि मध्यविन्दु जिल्ला अस्पतालसँग समन्वय गरिएको मर्दनियाको भनाइ छ । डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको लागि २८ शय्याको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए । आजसम्म पुग्ने गरी बिरामीका लागि आवश्यक पर्ने अक्सिजन सिलिण्डर मौज्दात रहेको भन्दै सुवेदीले थप अक्सिजनका लागि तयारी भइरहेको जानकारी दिए । (रासस)