NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

ब्राजिलमा प्रहरी र तस्करबीच गोली हानाहान, कम्तिमा २५ जनाको मृत्यु

रियो दी जेनेरियो । ब्राजिलको राजधानी रियो दी जेनेरियोमा बिहीबार प्रहरी र लागूपदार्थ तस्करबीच गोली हानाहान हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको पनि ज्यान गएको छ । मृत्यु हुने अन्यमा आपराधिक समूहका सदस्य रहेको प्रहरीको भनाइ छ । उक्त घटना स्थानीय समयअनुसार बिहीबार बिहान भएको हो । प्रहरीले रियो दी जेनेरियोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषध तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भीषण कारबाही गरेको थियो । यसक्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियारसहित उक्त बस्तीमा पुगेका थिए । सामाजिक सञ्जालमा राखिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको छ । हेलिकप्टरबाट लिइएका तस्बिरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएका छन् । जाकारेजिन्हो झुपडबस्तीलाई ‘रेड कमान्ड’ नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरियोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि यो बस्ती भने समथल ठाउँमा छ । (रासस/सिन्ह्वा)