NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कर्णालीका डाक्टरको चेतावनी : पूर्वाधार र जनशक्ति थप नगरे अवस्था नियन्त्रण बाहिर जान सक्छ !

सुर्खेत । कर्णाली प्रदेशमा संक्रमण फैलिँदै गएपछि चिकित्सकहरुले तत्काल जनशक्ति र पूर्वाधार थप गर्न माग गरेका छन् । दोस्रो लहरको कोरोना संक्रमण भयावह भएको र संक्रमण दर पनि बढ्दै गएको भन्दै चिकित्सकहरुले पूर्वाधार र जनशक्ति बढाउन माग गरेका हुन् । अन्यथा अवस्था नियन्त्रण बाहिर जाने चिकित्सकहरुले चेतावनी दिएका छन् । ‘अहिलेको संक्रमण निकै जटिल छ, अधिकांशलाई अक्सिजनबिना उपचार सम्भव छैन,’ प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘अवस्था भयावह हुन नदिन तत्काल दक्ष जनशक्ति र पूर्वाधार थप्नुपर्छ ।’ संक्रमणलाई नियन्त्रण गर्न सरकारले पूर्वाधार र जनशक्ति व्यवस्थापनमा लगानी बढाउनुपर्ने उनको जोड छ । ‘प्रदेशभरका अस्पतालले दुईसयभन्दा बढी संक्रमितलाई सेवा दिनसक्ने अवस्था छैन, पूर्वाधार भए पनि जनशक्ति अभावमा प्रयोगविहीन छन्’, प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्शन डाक्टर केएन पौडेलले भने, ‘पूर्वाधारको उचित प्रयोग र जनशक्ति व्यवस्थापन नभए हामीले धान्न सक्दैनौं ।’ जटिल प्रकृतिका संक्रमितको उपचारका लागि अस्पतालहरुको तत्काल स्तरोन्नति गर्नुपर्ने उनको सुझाव छ । ‘अहिले अस्पतालहरु आइसोलेसन छन्, जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट छैनन्,’ डाक्टर पौडेलले थपे, ‘जिल्लामा दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चालन नभए अक्सिजन अभावकै कारण संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आउँछ ।’ अक्सिजनबिना जटिल प्रकृतिका संक्रमितको उपचार सम्भव नहुने बताउँदै डा. पौडलले जिल्ला अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर र एचडीयू सेवा थप गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको जनशक्तिले दुईसय हाराहारीका संक्रमित उपचार गर्न सम्भव छ, आधा जनशक्ति मात्र संक्रमित भएमा अहिले दिईरहेको सेवा पनि कटौती गर्नुपर्ने हुन्छ’, उनले भने । उनका अनुसार जनशक्ति र पूर्वाधारका लागि तत्काल नै निर्णय लिनुपर्ने देखिएको छ । पूर्वतयारी नहुँदा समस्या पहिलो लहरको कारोना संक्रमण फैलिएको समयमा कर्णालीका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पताल बाहेकका अस्पतालहरुमा आईसीयू र भेण्टिलेटरको नाम नै थिएन । कोरोना संक्रमण फैलिए छि भने आईसीयु र भेण्टिलेटरको केही रुपमा भए पनि जिल्ला जिल्लाहरुमा स्थापना गरिए । तर, कोरोना संक्रमण अलि केही कम भएपछि ती आईसीयू र भेण्टिलेटर बेकामे भएका थिए । पहिलो लहरको कोरोना संक्रमणले पनि कर्णालीमा पूर्व तयारी भने शून्य नै रह्यो । भारतमा कोरोना बढेपछि नेपालीहरु गाउँ फर्किए । तर, गत वर्षको जस्तो गरेर दोस्रो चरणमा नत क्वारेन्टाइन तयार भए नत आइसोलेसनहरु नै । भारतबाट नागरिकहरु गाउँ पुगेसँगै कोरोना पनि गाउँ–गाउँमा पुग्यो । अहिले गाउँ–गाउँमा कारोना संक्रमणले आक्रान्त पारेको छ । जनशक्ति अभावमा उपचारमा समस्या स्वास्थ्यकर्मी अभावले कर्णाली प्रदेशमा कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न भएको छ । कोरोना संक्रमितको दर बढ्दै जाँदा सिमित जनशक्तिले बिरामीको उपचारमा समस्या भएको हो । कर्णालीमा दैनिक चारसय देखि पाँचसयसम्म कोरोनाका नयाँ संक्रमित थपिने गरेका छन् । संक्रमण तीव्र गतिमा फैलिँरहदा कर्णाली प्रदेशका अस्पतालहरुमा भने स्वास्थ्यकर्मीको अभाव छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्यांक अनुसार प्रदेशभर आठसय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । जसमा एकसय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, हाल प्रदेशभर जम्मा दुईसय ९६ जनाको मात्रै पदपूर्ति छ । एकसय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा २७ जना चिकित्सक मात्रै कार्यरत छन् । दरबन्दीमा कार्यरत सात जना विशेषज्ञ चिकित्सक भने अध्ययन लागि बिदामा रहेको निर्देशनालयले जनाएको छ । दरबन्दी अनुसार चिकित्सकहरु नहुँदा कर्णाली प्रदेशले हाल करारमा विशेषज्ञ चिकित्सक नियुक्त गरेर खटाएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काका अनुसार कर्णालीमा हाल करारसहित ९४ जना विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् । भर्खरै बसेको कर्णाली प्रदेश सरकारको बैठकले स्वास्थ्य क्षेत्रका प्राविधिक जशक्ति करारमा लिने निर्णय गरेको छ भने, पूर्वाधारका लागि पनि जिल्लाहरुमा बजेट पठाउने निर्णय गरिसकेको छ ।