NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सरकारको प्रक्षेपण : असारसम्म कोभिड संक्रमित सवा लाख पुग्ने, अक्सिजनको माग दुई गुणा बढ्ने

काठमाडौँ । कोभिड १९ को संक्रमण तीब्र गतिमा फैलिँदै जाँदा यो फैलावट थप भयावह हुँदै जाने अनुमान सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रक्षेपण अनुसार असारसम्ममा कोभिड संक्रमितको संख्या एक लाख २३ हजार दुई सय ६० पुग्नेछन् । वैशाखमामात्र ७६ हजार एक सय ६० कोभिड संक्रमित थपिने अनुमान मन्त्रालयको छ । त्यस्तै, जेठ महिनामा यो संख्या बढेर एक लाख सात हजार ५४ पुग्ने मन्त्रालयको प्रक्षेपण छ । कुल संक्रमितमध्ये ८० प्रतिशत सामान्य हुने पनि मन्त्रालयको आकलन छ । मन्त्रालयको अनुमान अनुसार १० प्रतिशत संक्रमितलाई अक्सिजनसहित उपचार गर्नुपर्ने हुनसक्छ । त्यस्तै, सात प्रतिशतलाई हाई डिपेन्डेन्सि युनिट (एचडियु) र तीन प्रतिशतलाई आईसियु/भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने पनि मन्त्रालयको अनुमान छ । अक्सिजनको माग झनै चुलिने कोभिड १९ को महामारीका कारण देशभर अक्सिजनको कमी भइरहेको बेलामा सरकारले आगामी असार मसान्तसम्म अक्सिजनको माग झनै बढ्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । असार महिनासम्म हाल प्रयोग भइरहेको भन्दा दुई गुणाले बढी अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने मन्त्रालयको आकलन छ । जसअनुसार असारसम्म कोरोना संक्रमितका लागि झन्डै ६ लाख वटा अक्सिजन सिलिन्डरको प्रयोग हुने देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण अस्पताल भर्ना भइ उपचार गर्नुपर्ने संक्रमितको आधारमा असार महिनासम्म कुल पाँच लाख ६७ हजार अक्सिजन सिलिन्डर कोरोना संक्रमितको उपचारको लागि खपत हुन सक्ने देखिएको हो । मन्त्रालयका अनुसार वैशाख महिनामा एक लाख ४४ हजार सिलिन्डर खपत हुनेछ । जेठ महिनासम्म पुग्दा एक लाख ९० हजार र असार महिनामा दुई लाख ३३ हजार सिलिण्डर खपत हुने देखिन्छ । यो हाल प्रयोग भइरहेको भन्दा दुई गुणाले बढी हो । आगामी असारसम्म २५ हजार नागरिकलाई अक्सिजनको आवश्यकता हुन सक्ने देखिन्छ । संक्रमितमध्ये १२ हजार तीन सय २६ हजार जनालाई अक्सिजनसहितको सामान्य आइसोलेसन आवश्यक हुन सक्छ । त्यस्तै, ८ हजार ६ सय २८ जनालाई जटिल एचडीयुमा उपचाररत हुनुपर्ने देखिन्छ भने गम्भीर समस्या आइ आइसियु या भेन्टिलेटरको आवश्यक्ता ३ हजार ६ सय ९८ जनालाई पर्ने देखिन्छ । यसरी आउँदो असार मसान्तसम्ममा मात्रै आइसोलेसन, एचडीयु र आइसीयु/भेन्टिलेटरमा अक्सिजनको आवश्यकता पर्न सक्ने संक्रमितको संख्या २४ हजार ६ सय ५२ पर्न जाने मन्त्रालयको अनुमान छ । कसलाई कति अक्सिजन आवश्यक ? आगामी असारसम्म आईसियु र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर बिरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्न सक्छ । त्यसमा प्रति मिनेट १० लिटरका दरले अक्सिजन दिनुपर्नेछ । त्यस्तै एचडीयुमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिन्छ । त्यस्ता बिरामीलाई प्रतिमिनेट आठ लिटर अक्सिजन दिनुपर्ने हुन्छ । सामान्य स्तरका बिरामी जसलाई अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने हुन्छ , उनीहरूलाई प्रतिदिन औसतमा ६ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाइएको छ । त्यस्ता बिरामीलाई प्रतिमिनेट औसत ४ लिटरको दरले अक्सिजन चाहिन्छ । त्यसका लागि कोरोना संक्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूले बेड संख्याका आधारमा कम्तीमा पनि ७ दिनका लागि मोडिकल अक्स्जिन तयारी अवस्थामा राख्नुपर्ने मापदण्ड पनि सरकारले तोकेको छ । तोकिएको नयाँ मापदण्ड अनुसार चिकित्सकको सिफिारिस र स्वास्थ्यकर्मीको निगरानी बिना मेडिकल अक्सिजनको प्रयोग गर्न पाइने छैन ।