NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

आजका ‘गुड न्युज’ : सोमबार अक्सिजन सिलिन्डर लिन जाँदै निगमको वाइडबडी

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । चारसय अक्सिजन सिलिन्डर र २० भेन्टिलेटर लिन सोमबार निगमको वाइडबडी चीन पठाइँदै चीन सरकारले दिएको अक्सिजन सिलिन्डर ल्याउन सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज(ए–३३०) चीन जाने भएको छ । नेपाललाई चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिन्डरमध्ये पहिलो पटकमा ४ सयवटा सिलिन्डर र २० भेन्टिलेटर नेपाल ल्याइने भएको हो । जहाज पठाउने सम्बन्धमा अर्थ मन्त्रालयले माग गरेअनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको थियो । मन्त्रालयले सोमबार जहाज चीन पठाउने निर्णय गरेको हो । जहाजको भाडाका सम्बन्धमा सहमति भएपछि जहाज पठाउने पक्का भएको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ । जहाजले बेइजिङबाट सिलिन्डर ल्याउनुपर्नेछ । यो संख्याका सिलिन्डर ढुवानी क्षमता भएका जहाज नेपालमा नेपाल एयरलाइन्ससँग मात्र रहेको छ । सोमबार नेपालबाट जाने वाडबडी जहाज मंगलबार भने चीनबाट फर्किनेछ । हाल नेपालमा दिनहुँ बढिरहेका कोरोना संक्रमितको उपचारमा अक्सिजनको माग उच्च भएपछि सरकारले अक्सिजन परिपूर्तिका लागि सक्रियता देखाएको हो । सुदूरपश्चिमका ६ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बन्ने, ८० लाखका दरले रकम निकासा सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेशका ६ वटा जिल्ला अस्पताललाई ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रतिअस्पताल ८०/८० लाख रुपैयाँ प्रदान गरेको हो । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइसकेको जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला सङ्क्रमितको उपचारमा सहजता ल्याउन रकम वितरण गरिएको मन्त्रालयको भनाइ छ । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले केही अस्पतालले अक्सिजन उत्पादन गर्ने मेसिन खरिदको प्रक्रिया अघि बढाइसकेको पनि जनाए । सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा हाल ३०० सिलिन्डर मात्रै उपलब्ध भइरहेको छ । पूर्वी नवलपरासीका २ पालिकाले सुरु गरे नि:शुल्क एम्बुलेन्स सेवा पूर्वी नवलपरासीका दुई स्थानीय तहले नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैंडाकोट नगरपालिका र कावासोती नगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैंडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएका छन् । गैंडाकोट नगर प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पुर्याउन तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिए । पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित बिरामीका लागि दुई र गर्भवतीका लागि एक एम्बुलेन्स नि:शुल्करूपमा सञ्चालन गर्ने गरी तयारी अवस्थामा राखिएको बताए । नगरपालिकामा विभिन्न सङ्घसंस्थासहित ७ वटा एम्बुलेन्स रहेको भए पनि सङ्क्रमितको उपचारका लागि समयमै सेवा पाउन कठिन हुने सम्भावनालाई ध्यानमा राखी नि:शुल्क एम्बुलेन्स सञ्चालन गरिएको पौडेलले बताए । एम्बुलेन्स आवश्यक पर्ने सङ्क्रमितले सिधै नगरपालिकाको स्वास्थ्य शाखा, स्थानीय जनप्रतिनिधि वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सक्ने पौडेलले बताए । सङ्क्रमण भएका बिरामीलाई अस्पताल पुर्याउनका लागि नगरपालिकामा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८५५०५६५५९ तथा अमरापुरीमा रहेको एम्बुलेन्सलाई खबर गर्न ९८६३२७२७२४ र गर्भवतीका लागि एम्बुलेन्स आवश्यक परेमा पितौजीको बर्थिङ सेन्टरमा ९८५५०६४३८८ मा सम्पर्क गर्नसमेत पौडेलले आग्रह गरे ।