NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एमाले एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय, बालुवाटारमा छलफल

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरू पार्टीको एकता जोगाउन कसरतमा लागेका छन् । पार्टी एकता जोगाउने प्रयासस्वरूप उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओलीपक्षीय नेताहरुसँग पार्टी एकताका लागि संवाद अघि बढाएका हुन् । आफू नेतृत्वको सरकारका लागि संसदबाट विश्वासको मत माग्ने मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली नेपाल पक्षसँग नजिक हुन चाहेका छन् । यता नेपालले पनि एमालेको निर्माण आफूहरूले नै गरेकाले यसको एकताका लागि आफू जस्तोसुकै लचकता अपनाउन तयार रहेको अभिव्यक्ति सार्वजनिक गरेर ओलीसँग मिल्ने संकेत देखाएका छन् । अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पार्टी एकता जोगाउन एकठाउँ आएकाले उनीहरूकै आग्रहमा दोस्रो तहका नेताहरू पार्टी एकताका लागि छलफलमा जुटेका हुन् । अध्यक्ष ओलीको प्रस्तावअनुसार नै शुक्रबार दुवै पक्षका नेताहरुबीच सहमतिका लागि बुँदागत छलफल भएको एमाले स्थायी समितिका एक सदस्यले बताए । को–को छन् छलफलमा ? छलफलका लागि नेपाल पक्षका नेताहरू भुसाल, विष्ट र भट्टराई शुक्रबार अपराह्नदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु छलफलमा छन् । नेपाल पक्षका यी तीन नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री पौडेलले निरन्तर सम्वाद गरिरहेका छन् । वरिष्ठ नेता नेपालले २३ फागुन ०७७ पछि अध्यक्ष ओलीले गरेका कुनै पनि निर्णय आफूलाई मान्य नहुने अडान दोहोर्याउँदै आएका छन् । २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा पुर्याएकाले २ जेठ ०७५ कै बिन्दुबाट एमाले अघि बढ्नुपर्ने नेपाल पक्षको बटम लाइन रहेको छ । तर ओलीले २८ फागुनपछि विभिन्न समयमा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक राखेर पार्टीका हालसम्म बनेका कमिटी र विभागमा आफूपक्षीय कार्यकर्ता नियुक्त गरेपछि नेपालपक्ष ओलीसँग थप चिढिँदै आएको छ । बालुवाटारको शुक्रबारको छलफलमा पार्टीलाई कुनै न कुनै रुपमा २ जेठ ०७५ कै अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन नेपालपक्षीय नेताहरूले जोड दिएका छन् । पार्टी एकता प्रयास जारी रहे पनि बुँदागत रुपमा टुंगो लागिनसकेको वार्तामा सहभागी एक नेताले बताए ।