NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गण्डकीमा बहुमत पुर्‍याउन सकेनन् कृष्णचन्द्रले, मुख्यमन्त्रीमा फेरि पृथ्वी सुब्बा गुरुङ

काठमाडौं । बहुमत पुर्‍याउन नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी गरेका कांग्रेस सांसद कृष्णचन्द्र नेपालीको दावीले मान्यता पाउन सकेन । बहुमत सदस्यको नामसहित प्रदेशप्रमुखकहाँ बुझाए पनि जनमोर्चाका दुई सांसदले साथ नदिँदा नेपाली मुख्यमन्त्री बन्न सकेनन् । जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमविक्रम शाहीले नेपालीलाई मुख्यमन्त्रीका लागि साथ नदिने बताएका थिए । बुधबार दिउँसो नै प्रदेश प्रमुखकहाँ पत्र पठाएर सांसद थापाले आफू तटस्थ बस्ने बताएका थिए । यस्तै, अर्का सांसद खिमविक्रम शाहीले गठबन्धनको सरकारमा आफ्नो समर्थन नरहेको पत्र पठाएका थिए । यी दुई सांसदले साथ नदिएपछि मुख्यमन्त्रीका लागि नेपालीले बहुमत जुटाउन सकेनन् । अब गण्डकीको मुख्यमन्त्रीमा फेरि पृथ्वी सुब्बा गुरुङ नै हुने भएका छन् । पोखरेलको दाबी नपुगेपछि फेरि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री हुने भएका हुन् । कांग्रेसका पोखरेलले ६० सदस्यीय प्रदेश सभाका कांग्रेसका १५, माओवादीका (सभामुखसहित) १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए । तर त्यसअघि नै मध्याह्न जनमोर्चाका थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताए । उनले आफू संसदीय दलको नेता रहेको प्रष्ट गरेका छन् । तर जनमोर्चाले भने उनलाई संसदीय दलको नेताबाट हटाइसकेको पत्र बुझाएको छ । २६ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि ३ दिनको म्यादसहित आह्वान गरेकी थिइन् । बुधबार ४ बजेसम्म त्यसको म्याद थियो । बहुमतको सरकार बन्न नसके संवैधानको धारा १६८ को ३ अनुसार अब प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुने पक्का भएको हो । उनको केही बेरमा सपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । जनमोर्चाका सांसद थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोर्चाकी सांसद पियारी थापाले संसद सचिवालयमा पत्र दिएकी थिइन् । तर, त्यो किर्ते र जालसाजी भएको भन्दै संसदीय दल नेता थापाले प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् । उनलाई कारबाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्‍याउने प्रयास विपक्षी गठबन्धनले गरेको थियो । उनलाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारबाही गरिएको बताएका थिए ।