NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

माधव नेपालले बोलाए आफू पक्षका नेतालाई कोटेश्वर

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू पक्षका केही नेताहरुलाई कोटेश्वर बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे निर्णय गर्नुअघि उनले केही नेताहरुलाई छलफलका लागि कोटेश्वरस्थित आफ्नै निवासमा बोलाएका हुन् । माधवकुमार नेपाल समूहले आफ्नो समूहको सांसदहरुको सामूहिक राजीनामा दिने की नदिने भन्ने निर्णय गर्ने अधिकार नेपाललाई दिएको छ । केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री हुनबाट रोक्न नेपाल समूहले सांसदबाट सामूहिक राजीनामा दिने र शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको गठबन्धन सरकार बनाउने प्रयास भइरहेको छ । त्यही क्रममा नेपालले केही नेताहरुलाई छलफलमा बोलाएको सांसद सुरेन्द्र पाण्डेले नेपालवाचलाई जानकारी दिए । कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जसपाले माधव नेपाल समूहलाई संसदबाट राजीनामा दिएर बहुमतको सरकार गठनमा साथ दिन आग्रह गर्दै आएका छन् । माधव नेपाल समूहकै योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरु भने पार्टी एकता बचाउने भन्दै ओली समूहका नेताहरुसँगको संवादलाई निरन्तरता दिएको छ । नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले पार्टी एकता बचाउने की नबचाउने भन्ने सबै कुरा केपी शर्मा ओलीमा भर पर्ने बताए । उनले आफूहरु अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने र त्यसका लागि प्रयास भइरहेको बताए ।