NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एमालेबाट माधव–झलनाथ पक्षका २१ सांसदले राजीनामा दिए पनि देउवा प्रधानमन्त्री नबन्ने पक्का

काठमाडौं । एकपछि अर्को राजनीतिक ध्रुवीकरण बढ्दै गएको बेला एमालेका नेपाल-खनाल पक्षका असन्तुष्ट २१ सांसदले राजीनामा दिए पनि गठबन्धन सरकारका लागि बहुमत नजुट्ने भएको छ । कांग्रेस, माओवादी र जसपाको असन्तुष्ट पक्षले मात्र साथ दिंदा एमालेको माधव नेपाल पक्षले पनि राजीनामा दिने वा भोट क्रस गरे मात्र गठबन्धन सरकार बन्ने बाटो खुल्थ्यो । तर, जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको आधिकारिक अध्यक्ष आफू भएको जानकारी राष्ट्रपति कार्यालय र निर्वाचन आयोगलाई पनि गराउने गरी पत्र लेख्ने तयारी गरेपछि प्रक्रिया लम्बिने भएको हो । प्रक्रिया लम्बिने भएपछि गठबन्धन सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय सकिने भएको हो । मुख्यगरी संसदको चौथो ठूलो दल जसपाको विवादले गर्दा एमालेको माधव नेपाल पक्षले राजीनामा दिने र संसदमा भोट क्रस गर्न तयार भए पनि प्रक्रिया लम्बिने भएको छ । जसपामा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो तत्काल कांग्रेस नेतृत्वको सरकारको पक्षमा छैनन् । तर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विकल्पमा सरकार गठन गरेर जानुपर्ने मतमा छन् । ठाकुर र महतो पक्षका १५ सांसदले प्रधानमन्त्रीको पक्ष र विपक्षमा भोट नहाली तटस्थ बसेका थिए । तर, भट्टराई र यादव पक्षका १५ सांसदले विपक्षमा मतदान गरे । ओली नेतृत्वको सरकारले बहुमत गुमाएर जसपा प्रष्ट रुपमा विभाजित भएपछि राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार दिएको तीन दिनको समयमा बहुमत जुट्न कठिन देखिएको हो । जसपाका नेता भट्टराई र यादव कांग्रेस, माओवादीसहितको सरकारको पक्षमा अघि बढेपछि अध्यक्ष ठाकुर र महतोले आपत्ति जनाएका छन् । महन्थ र ठाकुरले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी पार्टीमा आफूहरु आधिकारिक भएको भन्दै उपेन्द्र यादवको निवेदन आए अस्वीकार गर्न आग्रह गरेका छन् । पार्टी अध्यक्ष आफू रहेको भन्दै ठाकुरले आफ्नो मात्रै निर्णय चल्ने जानकारी लिखित रुपमा राष्ट्रपति कार्यालय र निर्वाचन आयोगमा गराउने तयारी गरेका छन् । राष्ट्रपतिसँग भेट गर्नु अघि ठाकुर र महतोले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा छलफल गरेका थिए । जसपामा यस अघि तत्कालीन नेकपाको जस्तै विवाद देखिए राष्ट्रपति कार्यालयले विवाद देखाइने र निर्वाचन आयोगले आधिकारिकताको लागि प्रक्रिया लम्बाइदिने देखिएको छ । जसपाका नेता उपेन्द्र यादवले पार्टी फुटाउन खोजे निवेदनलाई देखाएर आयोगले प्रक्रियालाई केही दिन लम्बाउने पक्का जस्तै छ । यस अघि निर्वाचन आयोगले तत्कालीन नेकपामा आधिकारिकतालाई महिनौंसम्म लम्बाइदिएको थियो । यस्तो प्रक्रिया टुंगिन केही दिन लाग्ने भएपछि बिहीबार राति ९ बजेसम्म गठबन्धनका सरकारका लागि माधव नेपाल पक्षका २१ सांसद थपिए पनि जसपाको विवाद कायम भए बहुमत नपुग्ने प्रष्ट देखिएको छ । यस्तोमा राष्ट्रपतिले दिएको तीन दिनको समय घर्कने देखिएको छ । माधव नेपाल पक्षको राजीनामाको चुनौती र राजीनामा नै दिए पनि निष्प्रभावी बनाउने विकल्पमा बालुवाटारमा छलफल भइसकेको । ठाकुर र महतोसँग लामो संवाद गर्दै प्रधानमन्त्री ओलीले नेपाल पक्षको राजीनामा आए पनि शीतलनिवास र निर्वाचन आयोगको सहयोगमा जसपाको आधिकारिकता विवादलाई लम्बाउने जनाउ दिएको बुझिएको छ । तर, जसपाको कार्यकारिणीमा उपेन्द्र यादव बहुमतमा छन् । सांसद संख्या पनि ठाकुर र महतोको भन्दा यादव पक्षको बढी छ । बहुमत जुटाउन संसदमा १३६ सांसद आवश्यक पर्छन् । जसमा कांग्रेसमा ६१, माओवादीका ४९ सांसद जोड्दा ११० मात्रै हुन्छन् । जसपाको आधिकारिकता विवाद भएर असन्तुष्ट पक्षले भोट हाल्न नपाए माधव नेपाल पक्षमा बढीमा २१ प्रत्यक्ष सांसद थपिंदा पनि आवश्यक १३६ को संख्या नपुग्ने पक्का भएको हो । प्रधानमन्त्रीले आफ्नो पक्षलाई अप्ठ्यारोमा पार्न जसपामार्फत् खेल्न खोजेपछि नेपाल पक्षका सांसद पनि राजीनामा दिने तयारीबाट पछाडि हट्ने लगभग निश्चित छ । बिहीबार राति ९ बजेसम्म बहुमत पुग्ने ग्यारेन्टी दलहरुले नगरे लगत्तै राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार संसदमा रहेको ठूलो दलको रुपमा एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री चयन गर्नेछिन् । त्यसपछि ओलीले पनि संसदमा विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत लिन नसके फेरि संसदको कुनै सदस्यले बहुमत पुर्याउने ग्यारेन्टी गरे त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछिन् । तर, त्यस्तो प्रधानमन्त्रीले पनि विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके सोही प्रधानमन्त्रीले ६ महिनाभित्र गर्नेगरी निर्वाचन घोषणा गर्नेछ । बैठकमा महन्थको चेतावनी विवाद देखिएपछि बुधबार दिउसो जसपाको पदाधिकारीको बैठक बसेको थियो । बैठकमा अध्यक्ष ठाकुरले आफू पहिलो अध्यक्ष भएको भन्दै पार्टी निर्णय आफूले भनेको अनुसार हुनुपर्ने अडान लिएका थिए । ‘पार्टीमा पहिलो नम्बरको अध्यक्ष मै हुँ । पार्टी निर्णय पनि मैंले भनेको अनुसार नै आधिकारिक हुने हो’ ठाकुरको भनाइ उद्यृत गर्दै स्रोतले भन्यो । अध्यक्ष ठाकुरले कांग्रेस माओवादी गठबन्धनको सरकारमा जान उपेन्द्र यादवले तयारी गरे राष्ट्रपति कार्यालय र निर्वाचन आयोगलाई पत्र लेखेर रोक्न आग्रह गर्ने जनाउ दिएका थिए । यादवले कांग्रेस, माओवादी गठबन्धनमा जाने गरी विज्ञप्ति निकालेपछि ठाकुरले पनि पार्टी गठबन्धन सरकारको पक्षमा नरहेको प्रष्ट्याएका थिए । यद्यपी जसपाको बैठकले सरकार गठनका लागि कुनै निर्णय गर्न भने सकेन । विवाद भएपछि पार्टी कुनै टुंगोमा नपुगेको हो । बिहीबार पुनः पार्टीमा छलफल गर्ने तयारी उनीहरुको छ ।