NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

महिलाले सम्हालेको मन्त्रालयमा पुरुषमाथि विभेद : पुरुषलाई काममा खटाएर महिला कर्मचारीलाई छुट्टी

काठमाडौं । महिलाले सम्हालेको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयमा पुरुषमाथि विभेद हुने निर्णय गरिएको छ । निषेधाज्ञाको समयमा छ्ट्टी दिने सन्दर्भमा महिला र पुरुष कर्मचारीलाई फरक–फरक व्यवहार गरेर विभेद गरिएको हो । मन्त्रालयले भोलिदेखि महाशाखाअन्तर्गतका महिला कर्मचारीलाई आगामी जेठ १३ गतेसम्म छुट्टी दिएको छ । तर, त्यही महाशाखामा कार्यरत पुरुष कर्मचारीलाई भने आलोपालो प्रणाली अपनाएर नियमित ड्युटीमा आउन भनिएको छ । बुधबार मन्त्रालयका शाखा अधिकृत गणेशबहादुर कट्वालले सबै महाशाखाहरूलाई सर्कुलर गर्दै ०७८ जेठ १३ गतेसम्मका लागि महिला कर्मचारीलाई कोभिड काजको व्यवस्था गर्न पत्राचार गरेका छन् । महाशाखा प्रमुखले बोलाएको अवस्थामा भने महिला कर्मचारी उपस्थित हुनुपर्नेछ । कोरोना महामारीमा आवश्यक सरकारी सेवा अत्यन्त न्यून कर्मचारीबाट सञ्चालन गर्ने निर्देशनअनुसार यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । तर, महिला र पुरुषमा फरक मापदण्ड अपनाएर निर्णय लिनुपर्नाको ठोस कारण भने खुलाइएको छैन । ‘विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण अति आवश्यक सरकारी सेवा अत्यन्त न्यून (एक चौथाई) कर्मचारीबाट सञ्चालन गर्ने नेपाल सरकारको निर्देशनसमेतलाई मध्यनजर गर्दै महाशाखाअन्तर्गत कार्यरत पुरुष कर्मचारीले आवश्यक पालोको व्यवस्था मिलाउनुहोला,’ मन्त्रालयले सबै महाशाखामा पठाएको पत्रमा भनिएको छ । मन्त्रालयको यस्तो निर्णयपछि मन्त्रालयका पुरुष कर्मचारी रुष्ट भएका छन् । कृषि मन्त्रालयअन्तर्गकै कर्मचारी डा. नवीन उपाध्यायले मन्त्रालयको निर्णयबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘लौ गज्जब । हामीलाई त केही छैन । तर, लैंगिक समानताका कुरा गर्नेहरूले के भन्लान् ? अनि कोरोनाले लिंग हेरेर आक्रमण गर्छ र ?’ उनले देशका सबै नर्सहरुमा यो नियम लागे गरे के होला ? भन्ने प्रश्न पनि गरेका छन् ।