NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आजका ‘गुड न्यूज’ : एनआरएनएले ओमनबाट ६ सय थान सिलिन्डर नेपाल पठाउने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । आजबाट विभिन्न स्वास्थ्य संस्थाले अक्सिजनका अभावका कारण उपचार गर्न नसक्ने भन्दै सूचना प्रकाशन गर्न थालिसकेका छन् । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । एनआरएनएले ओमनबाट ६ सय थान सिलिन्डर नेपाल पठाउने गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ओमनबाट ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाउने भएको छ ।अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बेला संघले आइतबारसम्म सिलिन्डर नेपाल पठाइसक्ने जानकारी दिएको हो ।ओमनको राजधानी मस्कटमा हाल सिलिन्डर खरिद गरिँदै छ । एनआरएनएले मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो । त्यसका लागि अर्डर भएर कम्पनी बिल पठाइसकेको र पहिलो किस्ताको रकम बुधबार भुक्तानी गरिने बताइएको छ । ६ सय सिलिन्डर खरिदका लागि झन्डै ७५ लाख रुपैयाँ लाग्ने बताइएको छ । रकमका लागि खाडी मुलकमा रहेका एनआरएनएका शाखाहरुले रकम जुटाइरहेका छन् । नपुग रकम एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिले उपलब्ध गराउने भएको छ ।खरिद भएको सिलिन्डर मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्ने र दूतावासले नेपाल पठाउनेछ । दूतावासले अक्सिजन सिलिन्डर पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाइन्ससँग समन्वय भइरहेको र आइतबार नै काठमाडौं पुर्याउने गरी तयारी भइरहेको जनाएको छ । होम आइसोलेसनमा बसेकालाई निःशुल्क मनोसामाजिक परामर्श कोरोना भाइरसबाट संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाहरुलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल(सीएमसी नेपाल) को टोलीले निःशुल्क मजोसामाजिक परामर्श दिने भएको छ । सीएमसी नेपालका प्राविधिक निर्देशक डा.पशुपति महतको नेतृत्वमा गठित उक्त टोलीले फोनमार्फत सेवा दिने भएको हो । महामारीमा धेरैले आफन्त गुमाउनुसँगै संक्रमणको भयले पनि मानिसहरूको मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यस्तो कदम चालिएको हो । यो सेवा लिन चाहनेले टोल फ्रि नं १६६००१८५०८० बाट हरेक दिन विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मनोविज्ञबाट निःशुल्क सेवा लिन सक्नेछन् । त्यस्तै सीएमसी नेपालका प्राविधिक निर्देशक डा.महतलाई ९८५१०९४८३१ र वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायालाई ९८४१४१९९८० मा सम्पर्क गर्न सकिन्छ । अक्सिजन उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय कोभिड–१९ संकट व्यस्थापन केन्द्र(सीसीएमसी) को निर्देशक समितिले अक्सिजनको उत्पादन बढाउने निर्णय गरेको छ । मंगलबार साझँ बसेको सीसीएकसीको बैठकले यस्तो निर्णय गरेको हो । अब अक्सिजन उद्योगमा २४ घण्टा विद्युत र पानीको सुविधा हुनेर उद्योगको सुरक्षाका लागि पनि व्यवस्था मिलाइनेछ । यदि अक्सिजन उत्पादनमा समस्या आएमा अस्थायी कर्मचारी या प्राविधिकमार्फत उत्पादन सुरु हुनेछ भने वैकल्पिक व्यवस्थाबाट भएपनि अक्सिजनको जोहो गरिने निर्णय भएको छ । कोरोना कोषमा सिद्धार्थ बैंकको एक करोड ४ लाख रुपैयाँ सहयोग कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सिद्धार्थ बैंकले १ करोड ४ लाख रुपैयाँ कोरोना कोषमा सहयोग गरेको छ । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश र स्थानीय सरकारलाई सहयोग गरेको जनाएको हो । जारी विज्ञप्तीमा जनाइएअनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँको दरले ७० लाख र आफ्ना शाखा रहेका १७ गाउँपालिकामा दुई लाख रुपैयाँको दरले ३४ लाख रुपैयाँ सहयोग गरेको छ ।