NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

गृहमन्त्री थापालाई एकै दिन दुई चोट, देवकोटालाई भारी भोट

राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् । हेटौंडा भुटनदेवी माविमा बिहीबार सम्पन्न मतदानमा थापालाई १ हजार ७४ मतभारले पछि पार्दै देवकोटाले राष्ट्रिय सभा यात्रा तय गरेका छन् । एमाले नेपाल–खनाल समूहबाट कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपातर्फबाट उम्मेदवार देवकोटा ५ हजार ८८ मतभार ल्याउँदै विजयी भएका हुन् । एमालेको ओली समूहबाट उम्मेदवार थापा ४ हजार १४ मतमै चित्त बुझाउन बाध्य भए । एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् । ६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात आइलागेको छ ।सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंदा एमालेमै रहेर गृहमन्त्री भइरहेका थापालाई बिहीबार नै सर्वोच्च अदालतले गृहमन्त्रीबाट मुक्त गरिदियो । एमाले उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका उनले बिहीबार नै हार बेहोर्नु प-यो । उत्साहसाथ मंगलबार राज्यशक्ति प्रयोग गरेर चुनाव जित्न हेटौंडा आएका थापा बिहीबार सबै जिम्मेवारीबाट मुक्त भएर चोट बोक्दै काठमाडौं फर्किनुपरेको हो । आफैंले गुमाएको राष्ट्रिय सभा सदस्य पदमा फेरि उम्मेदवार बन्दा उनले नमिठो पराजय बोकेका छन् । योसँगै उनको ‘राजनीतिक भविष्य के होला ?’ भन्ने प्रश्न खडा भएको छ । राजधानी दैनिकमा खबर छ।