NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

महन्थ ठाकुरले गुमाए प्रधानमन्त्रीको ऐतिहासिक अवसर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज ७ जेठ दिउँसो १२.३० बजे आकस्मिक पत्रकार सम्मेलन गर्दै थिए । त्यही क्षण सिंहदरबारमा बसेको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहको बैठकले नयाँ सरकार गठनमा तटस्थ बस्ने निर्णय गर्‍यो । आफू पक्षधरहरुसँगको बैठक सकिएसँगै अध्यक्ष ठाकुरले भने, ‘हामीले सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था त्यही छ ।’ ओली सरकारले आफूहरुको माग सम्बोधन गरिररहेकाले प्रधानमन्त्री ओलीको विपक्षमा जान नसक्ने ठाकुरको भनाइ थियो । त्यसकै अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा ठाकुर पक्षका मागको सम्बोधन गर्न संविधान संशोधनका लागि कार्यदल गठन गरियो । कार्यदलमा एमालेका अग्नि खरेल, कृष्णभक्त पोखरेल र विष्णु रिमाल र जसपाका तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुल्क रहे । त्यही दिन अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले शपथ सम्वन्धी अध्यादेश, २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ र नागरिकता सम्बन्धी अध्यादेश, २०७८ ल्याउने निर्णय गरेको थियो । जसमध्ये शपथ सम्वन्धी अध्यादेश र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश तत्काल जारी भयो भने नागरिकता सम्वन्धी अध्यादेश त्यस दिन जारी भएन । यसको मक्सद थियो, जसपाको ठाकुर पक्ष, जसले नागरिकता विवाद सुल्झाउन माग गरिरहेका थिए । उनीहरुले प्रधानमन्त्रीमा ओलीको निरन्तरतालाई साथ दिए जारी गर्ने नत्र राष्ट्रपतिबाट अध्ययन भइहेको नाममा ‘पेण्डिङ’ मा राखिदिने । रोचक के भने ६ जेठ बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग ठाकुर र राजेन्द्र महतोले भेट गरेका थिए । त्यहाँबाट निस्किएर ठाकुर–महतो लैनचौरस्थित भारतीय दुतावास छिरे भने प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास गए । ६ जेठकै राति जसपाका प्रथम अध्यक्ष ठाकुर र अर्का नेता महतो राष्ट्रपतिसँग ‘भलाकुसारी’ गर्न शितल निवास पुगेका थिए । शितल निवासमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, ठाकुर र महतोबीच लामै कुराकानी भएको थियो । ७ जेठ बिहान आफू पक्षधर सांसदसँग ठाकुरले यो कुरा लुकाएनन पनि । ठाकुर पक्षधर एक जना सांसदका अनुसार उनले अघिल्लो राती राष्ट्रपति निवासमा चिया खान मात्रै गएको बताएका थिए । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेपछि भएको पत्रकारसँगको संवादमा पनि ठाकुर भन्दै थिए, ‘राष्ट्रपतिसँग भेटघाट भएको छ राति । चिया खान गएको थिएँ । एक कप चिया खाएँ । फिर्ता भएँ । स्वास्थ्य कस्तो छ भनेर सोध्नुभयो । ठीक छ भनेँ । अहिले कोरोनाकै चिन्ता छ ।’ जुनबेला ठाकुर आफू पक्षधर सांसदहरु लिएर सिंहदरवारस्थित जसपा संसदीय दलको कार्यालयमा उपस्थित भएका थिए, त्यही बेला उनकै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिरहेका थिए । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ओलीको विकल्पमा ठाकुरलाई प्रधानमन्त्री बनाउन आतुर नै छ । आजै सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले समेत सरकार गठनका सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । नेकपा एमालेभित्रका माधव नेपाल पक्षधरहरु आफूले राजीनामा दिएर भएपनि ओलीलाई प्रतिस्थापन गर्न चाहन्छन् । त्यसैले नै यसबेला नेपाल समूहका सांसदहरु सिंहदरवारमा भेला भएका छन् । तर, ठाकुरले खुट्टा टेकिदिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो ६ जेठमा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आज ७ जेठ साँझ ५ बजेसम्मको समय दिएकी छन् । आजै दिउँसोको पत्रकार सम्मेलनमा ओलीको ‘कन्फिडेष्ट’ हेर्दा भरे ५ बजेपछि पनि उनै प्रधानमन्त्री बन्ने संभावना छ । ५ बजेसम्म प्रतिनिधि सभामा रहेका २ सय ७१ जना सांसदमध्ये बहुमतको प्रधानमन्त्री बन्न राष्ट्रपति समक्ष आधार कसैले पेश गर्न सकेनन् भने ओलीले संसद (प्रतिनिधि सभा) विघटन गरेर फेरि मध्यावधि निर्वाचनको घोषणा गर्ने सम्भावना बढेको छ । अहिले ३ बजेबाट नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा भट्टराई–यादवसहित प्रतिपक्षको बैठक सिंहदरवारमा बसिरहेको छ । उनीहरुले विपक्षी गठबन्धनमा बहुमत पु¥याएर राष्ट्रपतिकोमा जाने बताइरहेका छन् । तर, ठाकुर पक्षले साथ दिएनन भने विपक्षीको बहुमत पुग्दैन । विपक्षीको बैठकले ठाकुरलाई बहुमतको प्रधानमन्त्री बनाउने निर्णय गरे उनले स्वीकार गर्लान/नगर्लान ? त्यो केही समयपछि प्रष्ट हुनेछ । ठाकुरले ओलीलाई साथ दिन आफ्नो मुखमा आइसकेको प्रधानमन्त्री पद समेत अस्वीकार गरे भने उनले किन यतिको ‘त्याग’ गरेका हुन् ? त्यो ठूलो चासोको विषय हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष