NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिजसरी प्रयोग गरे : शेरबहादुर देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधानलाई निजी सम्पत्ति जसरी दुरुपयोग गरेको आरोप लगाएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले आफू मनलाग्दी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई प्रयोग गरिरहेको आरोप लगाएका हुन् । उनले शुक्रबार राति विकसित घटनाक्रमप्रति आफूहरुको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन् ।’ उनले वर्तमान सरकार गठन भएपछि नै निरन्तर रुपमा गैर संपैधानिक अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम गरिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले आफैं विश्वासको मत लिन नसक्ने घोषणा गर्ने र पुनः साँझ प्रधानमन्त्रीका लागि दावी गर्न जानु अनैतिक भएको देउवाको भनाइ छ । ‘राष्ट्रपतिले गरेको आह्वानको आधारमा मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमत सहित १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दावी प्रस्तुत गरेँ,’ देउवाले भने, ‘संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक विश्वासको मत लिन असफल भई स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’ देउवाले उक्त क्रियाकलापलाई अनैतिकको संज्ञा दिएका छन् । ‘संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो’, विज्ञप्तिमा भनिएको छ । उनले राष्ट्रपति र प्रधानमन्त्रीको यस्तो असंवैधानिक, अलोकतान्त्रिक क्रियाकलापविरुद्ध सशक्त संघर्षमा जाने चेतावनी पनि दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष