NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सम्बोधनप्रति ओलीको आक्रोश, ‘प्रचण्डको त कुरै छोडौं, लोकतान्त्रिक पार्टीका सभापतिमा तपाइँसम्म भन्नसक्ने योग्यता रहेनछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि गरिएको सम्बोधनमा आपत्ति जनाएका छन् । औपचारिक पत्रमासमेत राष्ट्रपतिलाई तल्लोस्तरमा सम्बोधन गरिएको भन्दै विपक्षीहरुको विरोध जनाएका हुन् । कम्युनिष्ट आन्दोलनका नेता बुद्धिबहादुर रायमाझीको पहिलो स्मृति दिवसका क्रममा आयोजित कार्यक्रममा ओलीले प्रतिपक्षी दलले समेत राष्ट्रपतिलाई औपचारिक पत्रमा पनि सम्मान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरे । साथै ओलीले लोकतन्त्रको हिमायती भनेर दावी गर्ने प्रमुख प्रतिपक्षी कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा दुवै असभ्य भएको आरोप लगाए । उनले भने, ‘जसले लोकतान्त्रिक अभ्यास आचरण मान्दैनन्, उनीहरु लोकतन्त्रका हिमायती भएका छन् । आदर्शहीनहरुले आदर्शका नक्कली कुरा गर्नु हुँदैन । देशलाई अराजकता र असभ्यतातिर लान खोजेका छन् ।’ औपचारिक पत्रमासमेत राष्ट्रपतिलाई तपाइँसम्म भनेर सम्बोधन गर्न नसक्नुले कांग्रेसको स्तर प्रस्ट भएको ओलीको भनाइ छ । उनले अघि भने, ‘मैले आज प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाइँसम्म भन्ने योग्यता कांग्रेससँग रहेनछ । कतै तिमी, उनी, यसो गरिन् । यो कस्तो खालको भाषा हो ?’ प्रधानमन्त्री ओलीले हिजो कूलीन, घराँनियाँ र सामन्तवादबाट आएको ज्ञानेन्द्र नामको राजाकहाँ पाउ ढोग्न जाने जानेहरु आज जनताको छोरी उच्च पदमा पुग्दा सम्मान गर्नु हुँदैन भनेर ठान्ने गरेको बताए । ‘त्यस ठाउँमा एउटा कूलीन घरानियाँ, पाखण्डताबाट आएको नालायक पात्र राजा नामको कोही हुन्थ्यो भने कस्तो कस्तो भाषा बोलेर निहुरिइर, मुडुल्किएर के–के भाषाले सम्बोधन गर्दै पाउ ढोग्न जान्छे,’ ओलीले भने, ‘आज जनताका छोराछोरी सम्मानित पदमा पुग्दा सम्मान गर्नुहुँदैन भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्नु बहादुरी ठान्छन् । अरु त चलेकै थियो । कांग्रेसका सभापतिको त्यसस्तरको भाषा आउँछ भन्ने कदापी लागेको थिएन ।’ अस्थिरता चाहनेहरुले समाजलाई अमर्यादित र असभ्यतातिर धकेल्ने खोजेको आरोप लगाए । उनले हाम्रो भाषा अंग्रेजीजस्तो सबैलाई एकै खालको सम्बोधन नहुने भएकाले हाम्रो संस्कृतिमा ठूलालजाई आदर र सानालाई स्नेह पूर्ण हुनुपर्ने बताए । भाषाका विषयमा उनले माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डप्रति पनि आक्रोश पोखेका छन् । प्रचण्डले विगत १४ वर्षदेखि असभ्य तरिकाले गालीगलौज र आरोप लगाउने काम गर्दै आएको बताए । ‘अहिले राजनीतिक रुपमा हेर्ने हो भने । प्रचण्डले मानिसलाई बोलेका वचन, करिब–करिब १५ वर्षयता लगाएका आरोप र गालीगलौजका भाषाहरु हेर्ने हो भने यति गम्भीर आरोप लगाइएको छ । असभ्यताको पराकाष्टा देखिन्छ । अहिले त नेपाली कांग्रेसले पनि कसलाई गुरु थापेको हो’, ओलीले आक्रोश पोखे ।

ताजा अपडेट

नेपालवाच विशेष