NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

देउवाको पक्षमा हस्ताक्षर गर्ने झलनाथ र माधवसहित ११ सांसदलाई तीन दिने स्पष्टीकरण (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आफ्नै सरकार ढाल्न विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गर्ने ११ जना सांसदलाई कारबाही थाल्ने प्रक्रिया अघि बढाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जना सांसदलाई कारबाही गर्ने निर्णय आज बसेको एमाले स्थायी कमिटी बैठकले गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ११ जनालाई हाल तीन दिने स्पष्टीकरण सोधिएको जानकारी दिए । पर्सी बिहानसम्मको मिति राखेर सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआए कडा कारबाही गरिने उनले बताए । आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टिकरण मागिएको छैन । स्पष्टीकरण सोधिएका झलनाथ, माधव र भीम रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् । माधव नेपाल पक्षका २६जना सांसदले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भनिए पनि कतिपयले हस्ताक्षर किर्ते भएको भनेको र कतिपयले लिखित र मौखिक रुपमा आफ्नो सहमति नरहेको जानकारी गराएकाले उनीहरुलाई स्पष्टीकरण नसोधिएको बैठकपछि एमाले प्रवत्ता प्रदीप ज्ञवालीले बताए । ‘देशैभर पार्टीका एकताको कुरा उठिरहँदा हामीले पनि पार्टीका लागि त हो भनेर उन्मुक्ति दियौं । तर, दोस्रो पटक पनि एमालेबाट निर्वाचित भएर विपक्षीलाई प्रधानमन्त्रीको साँचो बुझाउन जालान् भन्ने सोचेका थिएनौं’, ज्ञवालीले भने, ‘अब पर्सी बिहानसम्मको मिति दिइएको छ । चित्तबुझ्दो जवाफ आएन भने अन्तिम कारबाही पनि हुनसक्नेछ ।’ उनले अन्य हस्ताक्षरकर्ता सांसदको विषयमा भने के गर्ने भनेर छलफल भइरहेको बताए । यस्तै, प्रधानमन्त्रीले संविधान अनुसारकै प्रक्रिया अघि बढाएकाले यसमा कोही भ्रममा नपर्नसमेत आग्रह गरे । यी हुन् स्पष्टीकरण सोधिएका एमाले सांसदहरु १ : झलनाथ खनाल २ : माधवकुमार नेपाल ३ : भीमवहादुर रावल ४ : मुकुन्द न्यौपाने ५ : रामकुमारी झाँक्री ६ : सरला यादव ७ : पुष्पाकुमारी कर्ण ८ः : कलिला खान ९ : निरादेवी जैरु १० : लक्ष्मी कुमारी चौधरी ११ : कल्याणी खड्का

ताजा अपडेट

नेपालवाच विशेष