NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

अदालती प्रक्रियामाथि छलफल गर्दै सकियो विपक्षी गठबन्धनको बैठक

काठमाडौं । प्रतिनिधिसभा विघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चमा रिट दायर गरेको विपक्षी गठबन्धनको छलफल सकिएको छ । गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दायर गरेको रिटमाथि छफल गरेका छन् । कानुनविद्हरुको समेत उपस्थिति रहेको बैठकमा रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ । ‘कतिपय परिमार्जन गर्नुपर्ने, कतिपय ठेगान नमिलेको मिलाएको,’ माओवादी अध्यक्ष प्रचण्डले बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘टेक्निकल मात्रै हो आज ।’ रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भोलि या पर्सीसम्म मुद्दाको सुनुवाइ प्रारम्भ हुने र त्यसका लागि कानूनविद्हरुसँग छलफल गरेको बताए । रिट दायर भएपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे नै छलफल केन्द्रित भएको बैठकमा सहभागी नेताहरुले जानकारी दिएका छन् । लेखकले मुलुक नै नरहने हो कि भन्ने खतरा रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानलाई नै समाप्त पार्ने षड्यन्त्र भइरहेको दावी गरे । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निष्कासित माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू बैठकमा उपस्थित थिए । यता कानुनविद्हरुले सर्वोच्च अदालतमा ओलीले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका छन् । सर्वोच्चले पहिले ने पुनःस्थापना गराएको संसद्लाई पुनः विघटन गरिएको भन्दै अवहेलनाको मुद्दा बोकेर कानूनविद्हरु सर्वोच्च पुगेका हुन् ।