NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

प्रधानमन्त्री र प्रधानन्यायाधीश भेट भएको भए आश्चर्य : कांग्रेस

काठमाडौं । कांग्रेसले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको भए आश्चर्यको विषय हुने बताएको छ । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले आफुहरुले पनि यस्तो सुनेको भन्दै अदालतमा संसद विघटनविरुद्धमा मुद्दा परेको बेलामा प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको भए यसलाई आश्चर्य मान्नुपर्ने उनले बताएका हुन् । ‘प्रधानमन्त्री र प्रधानन्यायाधबीचको भेटबारे हामीले पनि सुन्यौं । यस्तो भएको भए हामीलाई आश्चर्य लागेको छ’, महतले भने । तर, सर्वोच्च अदालतले भेट भएको विषयलाई इन्कार गर्दै समाचार लेख्ने पत्रकारहरुलाई सर्वोच्चमा नै बोलाएर स्पष्टीकरण सोधेको छ । नेता महतले यस्तो स्पष्टीकरण दबाब भएको पनि बताए । ‘भेट भएको विषय आएपछि संचारमाध्यमलाई दबाब दिएको भन्ने कुरा पनि सुन्यौं । जहाँसुकैबाट भए पनि संचारमाध्यमलाई दबाब दिने काम हुँनुहुँदैन’, महतले भने । अरु दलसँग, सरकारको विरुद्ध, राष्टपतिको कदमविरुद्ध जनतामा निरन्तर जानकारी गराउने उनले बताए । महाधिवेशनको अन्योलबारे छुट्टै बैठक बस्ने असारको पहिलो साताबाट वडा तहका अधिवेशन गर्नुपर्ने कांग्रेसमा सदस्यताको विषय नै नटुंगिएपछि १४ औं महाधिवेशन प्रभावित हुने निश्चित भएको छ । भदौको पहिलो हप्ता महाधिवेशन गर्नेगरी तल्लो तहको अधिवेशन आउन लाग्दासमेत सदस्तयासहितको प्रक्रिया अघि नबढेपछि अन्योल भएको हो । तर, अधिवेशनका विषयमा पार्टीमा कुनै प्रष्ट छलफल नभएको जाजनकारी महतले दिए । ‘यो कोभिडको महामारीले गर्दा ढिलाई भइरहेको छ । अधिवेशनको विषयमा छुट्टै बैठक बस्छ । त्यही बैठकले के गर्ने भन्ने टुंग्याउनेछ’, उनले भने ।