NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

कर्णालीमा अक्सिजन अभाव : प्लान्टका सामग्री थन्किए, बिरामी महँगोमा हेलिकप्टर चार्टर गर्न बाध्य

सुर्खेत । सामान्य अवस्थामा पनि कर्णालीका दुर्गम बस्तीका बिरामीलाई उपचार गर्न हम्मे–हम्मे नै हुन्छ । सानातिना रोग लागेका नागरिकहरु कि गाँउघरमा नै स्थानीय धामी झाँक्री तथा जडिबुटीमा भर पर्नुपर्ने बाध्यता छ, कि त रोग पालेर मृत्यु कुर्नुपर्ने तितो सत्यका रुपमा विदितै छ । अहिलेको कोरोना महामारीको बीचमा त झन गाँउघरको अवस्था जटिल छ । जटिल प्रकृतिका कोरोना संक्रमित अक्सिजन सहितको उपचार अहिले नै कर्णालीका सबै जिल्लामा हुने सम्भावना छैन । जटिल बिरामीलाई रेफर गर्नुपर्ने अनिवार्र्य बाध्यता छ । तर, त्यस्ता बिरामीको उपचार भने महँगो हुने गरेको छ । एकपटक गरेको उपचारले जिन्दगी नै ऋणमा बिताउनुपर्ने अवस्था छ । हुम्लाबाट एकजना कोरोना संक्रमितलाई उपचारका लागि एक साताअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइयो । यस्तै जिल्लाको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि थप उपचारका लागि जुम्लामा रेफर गरियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहका अनुसार ति संक्रमितलाई हुम्लाबाट जुम्ला पठाउन साढे नौ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आयो । साढे नौ लाखमध्ये आधा गाउँपालिका र आधा रकम संक्रमितले व्यहोर्ने सहमति रहेको छ । हुम्लादेखि बिरामीलाई जुम्ला रेफर गर्नुको एकमात्र कारण जिल्लामा अक्सिजनको बन्दोबस्त नहुनु हो । उसो त हुम्लामा अक्सिजन प्लान्ट सञ्चालनका मेसिनहरु पुगिसकेका छन् । तर, जडानको कुनै टुंगो छैन । पछिल्लो समय हुम्लामा पनि संक्रमतिको संख्या बृद्धि हुँदा तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।त्यस्तै रुकुमपश्चिमको अवस्था पनि उस्तै छ । वैशाख यता मात्रै ६ जना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि रेफर गरिएको छ । रुकुमबाट अहिलेसम्म हेलिकप्टर चार्टर गरेर बाहिर उपचारमा गएकाहरुले पनि आफैं हेलिकप्टरको भाडा तिरेका छन् । आइतबार मात्रै रुकुम पश्चिमबाट नेपालगन्ज रेफर भएकी पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपापलिकाको राङसी स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मी र रुकुमपश्चिमका शिक्षकले ५ लाख ६० हजारका दरले हेलिकप्टरको भाडा तिरेका छन् । उनीहरुको नेपालगन्ज उपचार भइरहेको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले अहिले संक्रमित आफैंले भाडा तिरेको बताए । ‘अहिले संक्रमित आफैंले चेकमार्फत पैसा तिरेका छन्, प्रदेश सरकारले हवाई उद्धार गर्ने भनेकाले हामीले चिठी पत्र बनाएर प्रदेश मन्त्रालयमा पठाएका छौं, केही खबर आएको छैन,’ उनले भने । संक्रमण बढ्दै जाँदा जटिल प्रकृतिका संक्रमित बढ्न थालेका छन् । कर्णालीका सुर्खेत र जुम्ला बाहेक अरु जिल्लाका बिरामीलाई अक्सिजन अभावकै कारण जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । गाडीबाट संक्रमितलाई अन्य जिल्लामा लैजाँदा घण्टौं लाग्ने भएकाले मृत्यु हुनसक्ने खत्तराका कारण हेलिकोप्टर नै चार्टर गर्नुपरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले बताए । रुकुमपश्चिमबाट रेफर गरिएका संक्रमितलाई काठमाडौं, नेपालगञ्ज, पोखरा र बुटवल पु¥याउने गरिएको छ । संक्रमितले पाँच लाख ६० हजार देखि नौ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गर्ने गरेका छन् । अक्सिजन प्लान्टका सामग्री थन्किए संक्रमितले अक्सिजन अभावमा हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता भइरहँदा जिल्लाहरुमा भने अक्सिजन प्लान्टका समान थन्किएका छन् ।हुम्लामा अक्सिजन प्लान्ट सञ्चालनका मेसिनहरु पुगिसकेका छन् । तर, हालसम्म जडान भने भएको छैन । पछिल्लो समय हुम्लामा पनि संक्रमतिको संख्या बृद्धि हुँदा तत्काल अक्सिजन प्लान्ट सञ्चालन गर्नुपर्ने बाध्यता छ । रुकुम पश्चिम अस्पतालमा मेसिन पुगेको एक महिना पुगिसक्दा पनि अक्सिजन प्लान्ट सञ्चालमा आएको छैन । कर्णाली प्रदेश सरकारको ३९ लाख २२ हजार रुपैयाँमा खरिद गरेको अक्सिजन उत्पादन मेसिन थन्क्याउनु परेको छ । प्लान्ट सञ्चालन गर्न अझै हप्तादिन लाग्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय बताउँछ । ‘प्लान्ट जडानको काम भइरहेको छ’, कोरोना फोकल पर्सन रावलले भने, ‘हप्ता दिनपछि मात्रै सञ्चालनमा ल्याउने तयारी छ ।’ प्लान्ट सञ्चालन नआउँदा संक्रमितको उपचारका लागि दाङ, बुटवल र नेपालगञ्ज लगायतका शहरबाट अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता छ । हुम्लामा र रुकुमपश्चिम मात्रै होइन, मुगु, डोल्पा, सल्यान, कालिकोट र जाजरकोटको अवस्था पनि उस्तै छ । ति जिल्लाहरुमा महामारी सुरु भएको महिना दिनसम्म पनि प्लान्ट सञ्चालन भएका छैनन् । केही जिल्लाले अक्सिजन प्लान्ट उत्पादन गर्ने मेसिन जिल्ला अस्पतालमा थन्क्याएका छन् भने कुनै जिल्लाहरुमा खरिदको प्रक्रिया सुरु भएको छ । कर्णालीका दश जिल्लामध्ये सुर्खेत र जुम्लामा मात्रै अक्सिजन प्लान्ट सञ्चालनमा छन् । बाँकी जिल्लामा प्लान्ट नभएकै कारण त्यहाँका संक्रमितलाई अक्सिजनकै लागि जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता छ । उसो त कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि जटिल प्रकृतिका संक्रमितहरु हेलिकोप्टर चार्टर गरेर काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा जाने गरेका छन् । यता कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले भने जनशक्ति अभावका कारण प्लान्ट जडानमा समस्या भएको बताउँदै आएको छ । ‘अधिकांश जिल्लामा प्लान्ट सञ्चालन गर्ने मेसिन पुगिसकेका छन्, तर जडानका लागि जनशक्ति र पाइपलाइनको अभाव छ,’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन नोदनाराण चौधरीले भने, ‘सबै जिल्लामा एकै पटक प्लान्ट जडान गर्नुपर्दा समस्या आएको हो ।’ नि:शुल्क हवाई उद्धार कार्यन्वयन भएन कर्णालीका दुर्गम क्षेत्रका जटिल कोरोना संक्रमितहरुलाई प्रदेश सरकारले हवाई सेवाबाट चार्टर गरेर उपचार गर्ने निर्णय गरेको छ । जसको लागि बजेट पनि छुट्याइसकेको छ । तर, दुर्गमका संक्रमितको उद्दारका लागि हेलिकोप्टर चार्टर गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन । अहिलेसम्म कर्णालीका जटिल प्रकृतिका संक्रमितहरुले हवाई चार्टर गर्दा आफैं ५ लाख ६० हजार देखी ९ लाखसम्म पैसा तिरेका छन् । ‘बजेट जिल्लामा पठाउने भन्ने थियो तर .कार्यान्वयन भईसकेको छैन, कार्यन्वयनमा अब जाला’, स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्सन नोदनाराण चौधरीले भने । डोल्पामा ठेक्का प्रक्रिया रद्द डोल्पामा अक्सिजन प्लान्ट जडानको ठेक्का प्रक्रिया नै रद्द भएको छ । माग गरिएको भन्दा फरक मेसिन पुगेपछि ठेक्का प्रक्रिया रद्द गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ । ‘सल्यान र हाम्रो मेसिन एउटै परेछ,’ कोरोना फोकलपर्सन टेकबहादुर गुरुङले भने, ‘ठेक्का रद्द भयो, अब सिलिण्डर किनेर काम चलाउनुपर्ने भयो ।’ सल्यान अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर मेसिन झिकाएपछि त्यहाँ विवाद छ । सल्यान र डोल्पाको एउटै ठेकेदारले एउटै मेसिन ल्याएपछि ठेक्का रद्द गरिएको हो । प्लान्ट सञ्चालन गर्ने योजना असफल भएपछि अस्पतालले एकसय १८ वटा अक्सिजन सिलिन्डर खरिद गरेको छ । नेपालगञ्जबाट अक्सिजन डोल्पा पुर्‍याउन झण्डै हप्तादिन लाग्ने गर्दछ । आउन जान चारदिन र पालो कुर्दासम्म हप्ता दिन लाग्ने गरेको हो । जसका कारण हाइफ्लो अक्सिजन चाहिने संक्रमितहरु जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था छ ।