NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुदूरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

कञ्चनपुर । कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबारसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा महिला नौ हजार ५३६ जनामा पीसीआर पोजेटिभ देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन् । कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन् । निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले केही दिनयता सङ्क्रमण दर घट्दै गइरहेको भएपनि स्वास्थ्य सर्तकता अपनाउन जरुरी रहेको बताए । उनले केन्द्र र प्रदेश सरकारको पहलमा कोरोना परीक्षण दायरा बढाउन एन्टिजेन किट खरिदको पहल भइरहेको बताएका छन् । सुदूरपश्चिममा मङ्गलबारसम्म ३९ हजार ३०९ जनाको एन्टिजेन परीक्षण गर्दासम्म ५ हजार ७९२ जना पोजेटिभ देखिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पिसिआर परीक्षणबाट पोजेटिभ देखिएकामध्ये दश हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । १९ हजार ९८२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने सङ्क्रमणबाट हालसम्म २५५ जनाले ज्यान गुमाएको निर्देशनालयले जनाएको छ । त्यसैगरी सुदूरपश्चिममा नौ वर्ष मूनिका एक हजार ४९ जना बालबालिकामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । २५ लाख भन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य संस्था, अस्पताल र स्वास्थ्य उपकरणको अवस्था भने अझै नाजुक रहेको छ । सुदूरपश्चिममा हालसम्म ३४ वटा मात्रै भेन्टिलेटर सहितको सघन स्वास्थ्य सुविधा रहेको छ । प्रादेशिक अस्पतालदेखि विभिन्न स्वास्थ्य संस्थासम्म गरी यहाँ ६३ आइसियु शय्या र १५४ एचडियु शय्या रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १ लाख ७५ हजार सात सयको पिसिआर विधिबाट कोरोना परीक्षण हुँदा ३ हजार नौ सय ७८ जना सङ्क्रमित देखिएका छन् ।