NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ध्यान किन र कसरी गर्ने ?

अहिलेको समयमा शारिरीक, आर्थिक र प्राकृतिक समस्या भन्दा पनि अधिकांशमा भावनात्मक र मानसिक समस्या बढी देखिन थालेको छ । यी समस्याले गर्दा अरु समस्या निम्तिन थाले । हाम्रा परिवारसँग सम्बन्ध बिग्रयो, साथी र समाजसँगको सम्बन्ध बिग्रियो । फलस्वरुप हाम्रो स्वास्थ्य र कार्य क्षमता पनि बिग्रियो । यसले हाम्रो बाँच्ने तौर तरिका र जीवनदृष्टिलाई पनि प्रभाव प-यो । हाम्रा वरिपरी घट्ने यी यावत् समस्याले व्यक्ति घुमिफिरि आफैंमा खुम्चिन बाध्य हुन्छ । यी सबै कुरालाई रोक्नका लागि संसारमा भएका अनेकौं विधिमध्ये सबैभन्दा महत्वपूर्ण विधि नै ध्यान हो । वैदिक, बौद्ध, नानक, जैन, गोरखनाथ, शंकाराचार्य आदि सबै परम्पराको मुख्य केन्द्रबिन्दु हो ध्यान । मनका चञ्चालता, मनसँग जोडिएका दुःख, भय , पीडा, अस्थिरता, उत्तेजना, आवेग र संवेगलगायतका विक्षेपबाट नै मानसिक समस्या निम्तिनुका साथै हाम्रा सामाजिक र व्यवसायिक क्रियाकलापहरूमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । त्यसकारण हामीले ध्यान गर्नु जरुरी हुन्छ । कसरी गर्ने त ध्यान ? मुख्यतः आफूले गरिरहेको जुन सुकै कामलाई ध्यानपूर्वक गर्नु नै आफैंमा ध्यान हो । यसका कुनैै निश्चित विधि छैनन् । मन्दिरमा पूजा गर्दै हुनुहुन्छ भने ध्यानपूर्वक गर्नुस्, कुनै पाठ गर्दै हुनुहुन्छ भने ध्यानपूर्वक रमेर, झुमेर गर्नुस्, कुनै दान/सेवा गर्नुहुन्छ भने त्यो पनि ध्यानपूर्वक गर्नुस् । ध्यानको मुख्य चुरो नै ‘एकतत्वाध्यासः’ मा छ । अर्थात् कुनै पनि काम गर्दा ध्यानपूर्वक गर्ने । जुन विधि, क्रिया, कर्मकाण्ड अपनाए पनि यसको चुरो एकतत्वाध्यासःमा छ । अहिले विश्वका अधिकांश डाक्टरहरुले भन्न थालेका छन्, ‘अबको दश वर्षमा एउटामात्रै मुख्य समस्या हुन्छ, त्यो हो डिप्रेसन ।’ यो यति अनौठो रोग छ कि, जसलाई डिप्रेसन हुन्छ, त्यो कुरा स्वयंलाई पनि थाहा हुँदैन । अर्काले संकेत गरिदिएपछि त्यसलाई स्वीकार गर्र्न पनि मानिसले गाह्रो मान्छ । अधिकांश व्यक्ति डिप्रेसनबाट गुज्रिनु र अन्य शारिरीक समस्या जस्तै, उक्त रक्तचाप, मोटोपना, अनिद्रा, युरिक एसिडलगायत समस्याहरु घुमिफिरी डिप्रेसनसँग जोडिएका हुन्छन् । डिप्रेसनलाई समाहित गर्ने एकमात्र विधि नै ध्यान हो । प्राण चञ्चल भयो भने चित्त चञ्चल हुन्छ । प्राण यदि निश्चल भए मन पनि शान्त हुन्छ । मन खिन्न हुँदै गयो भने नाकबाट श्वास फेर्ने । नाकबाट श्वास लिन सामान्य टिप्स अपनाउन सकिन्छ । दिनभरि मुखलाई बन्द गरेर नाकबाट श्वास फेर्नुस् । नाकबाट श्वास फेर्दा श्वासप्रस्वासको प्रक्रिया गहिरो भएर जान्छ । त्यसले तपाईंको ध्यान आफैं श्वासमा केन्द्रित बनाउँछ । ध्यानको बाह्य रुप भनेको त एकाग्रता हो भने भित्रि रुप मनको शितलता । एकाग्रताको लागि कुनै एकमात्र काममा ध्यान दिए हुन्छ । एकाग्रता बढ्नुसँगै आत्मबोध पनि बढ्छ । ध्यानको अभ्यास बढ्दै गयो भने वैराग्य स्वतः घट्दै जान्छ । साधकले कुन ध्यान साक्षी, भाववाचित, विपाश्यना, उपयुक्त हुन्छ भनेर पनि चयन गर्नुपर्छ । साधकको समय छैन भने, गुरुले कसलाई कुन ध्यान उपयुक्त भनेर बताइदिनुपर्छ । गुरुको मार्गदर्शनमा साधकले आफूलाई उपयुक्त हुने ध्यान गर्न सक्छन् ।