NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

रोजगार केन्द्रित बजेट ल्याउँदैछौँ : मन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् । पहिलो कोरोना महामारीबाट यहाँका जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्नेबारे जानकारी गराउँदै मन्त्री शर्माले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै लैजाने बताए । ‘कर्णालीका नागरिकहरुको बेरोजगारी समस्या हल गर्न रोजगारी सिर्जना गर्ने योजना निर्माणमा छौँ’, उनले भने,- ‘यहाँका प्रत्येक घरपरिवारलाई रोजगार बनाउन सक्यौँ भने मात्र गरीबी निवारण भएर आत्मनिर्भरता बढ्न सक्छ ।’ आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली प्रदेश सरकारले करीब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारीमा रहेको मन्त्री शर्माले बताए । यता प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीताकुमारी नेपालीले कोभिड महामारीको विषम परिस्थितिका कारण सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि समस्या भएको बताइन् । यसैबीच नेकपा(एमाले) कर्णाली प्रदेशसभा दलको आइतबार बसेको बैठकले सरकारले असार १ गते बजेट ल्याउनु १५ दिनअघि नै विधेयक, सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति प्रदेशसभामा प्रस्ताव गर्नुपर्ने प्रदेशसभा नियमावली र संविधानतः व्यवस्था भए पनि त्यसो नभएको टिप्पणी गरेको छ । त्यसका लागि प्रदेश सरकारले आगामी आवका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न तत्काल अधिवेशन बोलाउन माग गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष