NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बेलायती र भारतीय भेरियन्ट मिलेर भियतनाममा देखियो नयाँ भाइरस, हावाबाट पनि सर्ने खतरा

काठमाडौं । कोरोना भाइरसले पूरै विश्व आक्रान्त छ । पहिलो लहरले यूरोपमा कहर नै मच्चाएको थियो । विस्तारै एसियातर्फ फैलिँदै गर्दा बेलायतबाट दोस्रो भेरियन्टको भाइरसको प्रकोप सुरु भयो । बेलायतबाट सुरु भएको दोस्रो लहरको भाइरस पहिलो भन्दा निकै आक्रामक देखियो । पहिलो लहरमा एशियामा खासै प्रभाव नपरे पनि दोस्रो लहरले एसियालाई पूरै तरिकाले प्रभावित पार्यो । अहिले भियतनाममा अर्को खतरनाक भाइरस पुष्टि भएको छ । दुवै लहरको चेपेटाबाट खासै प्रभाव नपरेको भियतनाममा भेटिएको नयाँ भेरियन्टको भाइरसले भने निकै क्षति पुर्याउन सक्ने आंकलन गरिएको छ । भियतनामी समाचार संस्था भीएन एक्सप्रेसले नयाँ भेरियन्टको भाइरस भेटिएको पुष्टि गरेको छ । तर, उक्त भाइरस यसअघि देखा परेका कोरोना भाइरस भन्दा निकै खतरनाक र आक्रामक रहेको वैज्ञानिकले दावी गरेका छन् । भारतीय र बेलायती भेरियन्टबाट बनेको नयाँ भाइरस हावाबाट समेत सर्न सक्ने दावी गरिएको छ । भियतनामी सरकारी अधिकारीहरुले भीएन एक्सप्रेससँग कुरा गर्दै भनेका छन्, ‘यो भाइरस बेलायती र भारतीय भेटिन्ट मिलेर बनेको छ । यसको संक्रमण दर र क्षति पनि अघिल्ला भाइरसको तुलनामा बढी नै देखिन्छ ।’ पहिलो र दोस्रो लहरले पूरै विश्वलाई नै थिलोथिलो पारेको अवस्थामा अहिले नयाँ प्रजातिको भाइरसले विश्वसमुदायलाई पुनः एक पटक चिन्तामा पारेको छ । भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट पनि निकै छिटो फैलिन सक्ने खालको रहेको दावी गरेका छन् । समाचार संस्था भीएन एक्सप्रेससँग कुरा गर्दै उनले भने, ‘यसअघि देखिएका भाइरस हावाबाट सर्ने खालका थिएनन् । तर, यो दुई भाइरसबाट मिलेर बनेकाले खतरनाक र हावाबाटै सर्नसक्ने खालको छ ।’ निकै खतरनाक भनिए पनि यसको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य संगठनलाई भने भियतनाम सरकारले नयाँ भाइरसबारे जानकारी गराइसकेको छ । विश्व स्वास्थ्य संगठनले जाँच गरेर विवरण आएपछि यसबारे विस्तृत जानकारी दिने बताएको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ । यसअघि देखा परेका भेरियन्टहरु हावाबाट सर्ने खालका थिएनन् । तर, यो नयाँ प्रजातिको भाइरस हावाबाट पनि सर्नसक्ने दावी गरिएसँगै विश्व समुदायमा पुनः अर्को त्रास थपिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष