NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आजका ‘गुड न्युज’ : स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्षसम्म कैद हुने कानुन ल्याइदैं

आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई चार वर्षसम्म कैद हुने कानुन ल्याइदैं पटक–पटक स्वाथ्यकर्मीमाथि हुँदै आएको स्वास्थ्यकर्मीको आक्रमण गर्नेमाथि स्पष्ट कानुन तयार हुने भएको छ । यसबारे चौतर्फी दबाबपछि अन्तत सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले मस्यौदा तयार गरी मन्त्रीपरिषद्मा पठाएको अध्यादेशमा स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्था माथि आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद सजाय दिने व्यवस्था र दुई लाख रुपैयाँ जरिवाना सहितको तयारी भएको छ । चिकित्सक संघका अनुसार गएको ७ वर्षमा स्वास्थ्यकर्मीमाथि ३४ वटा हमलाका घटना दर्ता भएका छन् । तीमध्ये १२ वटा घटना सरकारी अस्पतलामा भएका छन् । पटक पटकको हमला भएपनि कानुनको अभावका कारण दोषी उन्मुक्त थिए । मन्त्रीपरिषद्मा प्रस्तावित अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउछ । सञ्चालनमा आयो कोभिड–१९ युनिफाइड अस्पताल सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले मंगलबारदेखि अस्पताल सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । ‘हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा बिरामी राखेर उपचार गरेका छैनौ’, उनले भने, – ‘पर्याप्त मात्रामा अक्सिजन जडान गरी अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्ने छौ ।’ अस्पतालले केही दिनमा सय शय्या र पछि सबै पूर्वाधार जडान भइसकेपछि सबै शय्या सञ्चालनमा ल्याउने छ । सरकारले वीर अस्पतालको ५०० शय्याको नयाँ सर्जिकल भवनमा नै युनिफाइड अस्पताल सञ्चालन गरेको हो । युनिफाइड अस्पतालले सङ्क्रमितको उपचार व्यवस्थापन, अक्सिजन, आइसोलेसन, एचडियु र आइसियुको व्यवस्थापन गर्ने, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसन फलोअप, एम्बुलेन्स, आकस्मिक सेवा समेत सञ्चालन गर्ने छ । जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार मंगलबार मात्र चीनबाट ‘भेरोसेल’ खोप आएको र आज थप तिब्बत सरकारबाट आउन थालेको छ । प्रवक्ता डा. पौडेलले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर मात्र ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने बताए । उनले ज्येष्ठ नागरिकसँग चीनसँग सीमा जोडिएका जिल्लाका १८ वर्षभन्दा माथिका लागि पनि खोप दिइने जानकारी दिए । ६० देखि ६४ उमेर समूहका खोप लगाउने करीब आठ लाख जनसङ्ख्या रहेको छ । मन्त्रालयले खोप लगाउँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस लिएर जान अनुरोध गरेको छ ।