NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उपचार गर्न घोडामा चढाएर लैजानुपर्ने बाध्यता, गाउँपालिकाले सहयोग नगर्दा हुम्लामा पहिलो पटक संक्रमितको मृत्यु

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको पहिलो पटक मृत्यु भएको छ । कोरोना पुष्टि भएलगत्तै सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५७ वर्षीय पुरुषलाई श्वास प्रश्वासमा समस्या आएका कारण मृत्यु भएको हो । यतिबेला संक्रमितले समयमै उपचार र उद्धार नपाएकै कारण मृत्यु भएको खुलासा भएको छ । मृतकका आफन्तका अनुसार श्वास प्रश्वासमा समस्या आउनेवित्तिकै छोराहरूले तुरुन्तै गाउँपालिकालाई खबर गरेका थिए । तर गाउँपालिकाले बेवास्ता गर्दा उनको उपचारका लागि अस्पताल लैँजादै गर्दा उनको बाटोमै मृत्यु भयो । सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको थियो । उनको स्वास्थ्य अवस्था हेर्दा हेलिकोप्टरको सहायतामा अस्पताल लगिनुपर्ने थियो । तर, त्यसको पहुँच नभएपछि बिहीबार बिहान दुई जना छोराहरुले उनलाई घोडामा चढाएर दुल्ली कुना पुर्याएका थिए । त्यहाँबाट अगाडि बढ्दै गर्दा उनको बाटोमै मृत्यु भएको हो । कर्णाली प्रदेश सरकारले संक्रमितको उद्धारका लागि निःशुल्क हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर उनको हकमा गाउँपालिका गुहार्दा पनि कुनै सहयोग हुन सकेन । रिप गाउँ सदरमुकामबाट पैदल हिडेर जान दुई दिन लाग्ने दुर्गम गाउँ हो । ु‘बुवालाई हेलिकोप्टरबाट उद्धार गरेर थप उपचार गर्न पाएको भए बचाउन सकिन्थ्यो,’ मृतकका छोरा जसबहादुर विश्वकर्माले भने, ‘तर हामी गरीब र दलित भएकै कारण उपचार र उद्धार पाउन सकेनौँ ।’ आर्थिक श्रोत कमी भएको कारण आफै हेलिकोप्टर रिजर्भ गर्न नसक्ने तर गाउँपालिका, प्रदेश सरकारको आशा गरेपनि त्यो माग सुनुवाई नभएको उनले गुनासो गरे । कोरोना संक्रमित बिरामीको उद्धार गर्न हेलिकोप्टरले साढे नौ लाख भाडा लिने गर्छन । अर्का छोरा भिम विश्वकर्मा पनि आर्थिक अभावकै कारण बाबुलाई गुुमाउनु परेको बताउँछन् । ‘सायत पैसा भएको भएपनि बचाउन सकिने रहेछ,’ उनले भने । यसअघि सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई गाउँपालिका र प्रदेश सरकारले हेलिकोप्टरबाट उद्धार गरेर जुम्ला लगेको थियो । उनले बुधबार मात्रै कोरोना जितेर बाच्न सफल भए । तर समयमै उपचार र उद्धार नभएकै कारण विभेद खेप्दै हुम्लाका पहिलो संक्रमित दलित समूदायका व्यक्तिको मृत्यु भएको छ ।