NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

नेपाल प्रहरीको सुडान मिसन बन्द

द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्रर्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत ८६ प्रहरी स्वेदश फर्किएका छन् । अन्य ८३ जनालाई भने फरक जिम्मेवारीका लागि करिब ६ महिना राख्ने निर्णय भएको छ । एफपियूलाई पुलिस गार्ड युनिट (पिजियू)का रूपमा आगामी डिसेम्बरसम्म राख्ने निर्णय भएको छ । पिजियूले युएन क्याम्प र बन्दोबस्तीका सरसामानको सुरक्षा गर्नेछ । सुरक्षा परिषद्ले गत ३१ डिसेम्बरदेखि नै सुडान मिसन बन्द गर्ने निर्णय गरेको थियो । यो वर्षभित्र राष्ट्रसंघअन्तर्गत शान्ति मिसनमा खटिएका सबै सुरक्षाकर्मी फिर्ता हुनेछन् । सुडानमा विभिन्न देशका १३ वटा एफपियू कार्यरत छन् । अन्य देशका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् । पूर्ण रूपमा शान्ति स्थापना भइनसके पनि सुडान सरकारको दबाबमा सुरक्षा परिषद्ले मिसन अन्त्य गरेको हो । सुडान मिसन बन्द भएपछि केही सुरक्षाकर्मी फिर्ता आइसकेको र केही बाँकी रहेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए । सन् २००८ सेप्टेम्बरमा स्थापना भएको प्रहरीको सुडानस्थित एफपियू मिसन त्यही हो, जसको बन्दोबस्तीका सामान खरिदमा करोडौँ भ्रष्टाचार हुँदा सिंगो प्रहरी नै बदनाम भएको थियो । जुन अनियमिततामा नेपाल प्रहरीका तीन पूर्वआइजिपीसहितका अधिकारीले जेल सजाय भोगेर छुटिसकेका छन् । मिसनका लागि आवश्यक एपिसीलगायत सामान खरिदमा २८ करोड अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । सुरुमा प्रयोग भएका सामान गुणस्तरहीन भएको भन्दै राष्ट्रसंघले प्रयोग गर्न नदिएपछि प्रहरीले पछि फेरि खरिद गरेर पठाएको थियो । मिसन बन्द भएसँगै ती सामान पनि अब नेपाल फिर्ता ल्याउनुपर्ने हुन्छ  । हाल सुडानमा प्रहरीका आठवटा एपिसी छन्, जसमध्ये दुईवटा भने केही महिनाका लागि राखिने भएको छ । थप सामान राष्ट्रसंघले नै नेपाल ल्याइदिनेछ । नयाँ पत्रिकामा खबर छ।