NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

भेरी अस्पतालका चिकित्सकलाई अस्पताल विकास समितिका अध्यक्षबाटै धम्की

काठमाडाैं । १३ जेठमा भेरी अस्पतालको कोभिड आइसियुमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडलाई लिएर अस्पतालका कर्मचारी तथा चिकित्सक र स्वास्थ्यकर्मी निरन्तर आन्दोलनमा छन् । यसैबीच भेरी अस्पतालको विकास समितिका अध्यक्ष प्रमोद धितालले सामाजिक सञ्जालमार्फत गैरजिम्मेवार तरिकाबाट धम्कीपूर्ण विचार संप्रेरण गरेको भन्दै अस्पतालमा शान्तिपूर्ण आन्दोलनको नेतृत्व गरिरहेको नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. विनोद कर्णको संयोजकत्वमा बनेको ७ सदस्यीय संघर्ष समितिले खेद प्रकट गरेको छ । समितिले जेठ २० मा एक विज्ञप्ती जारी गर्दै अस्पतालमा शान्तिपूर्ण रुपमा दबाबमुलक कार्यक्रम गर्दै आएको संघर्ष समितिलाई धितालले बारम्बार उत्तेजित हुने धम्कीपूर्ण विचार संप्रेषण गरेको भन्दै खेद प्रकट गरेको छ । धितालले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घट्नापछि सुरु भएको शान्तिपूर्ण आन्दोलनलाई लिएर पटक–पटक टिप्पणी गर्दै आएका छन्, जसमा उनले आन्दोलनलाई ‘नाटक’ को संज्ञा दिएका छन् । गत सोमबार धितालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘नेपाल सरकार स्वास्थ्यकर्मीमाथि संवेदनशील ढंगले अगाडि बढेको छ । भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ । राजनीति बन्द गर’, लेखेका थिए । यस बाहेक पनि उनले शान्तिपूर्ण आन्दोलनलाई लिएर यस्तै विवादास्पद टिप्पणी गर्दै आएका छन् । धितालले सामाजिक सञ्जालमा गरिरहेको टिप्पणीमाथि खेद प्रकट गर्दैै भेरी अस्पतालको सात सदस्यीय संघर्ष समितिले विज्ञप्तीमार्फत खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी स्वास्थ्यकर्मीहरु आफूहरुको पेशाको मर्यादा र कार्य क्षेत्रमा खटिएको बेला सुरक्षाका लागि नेपाल सरकारसँग समुचित कानुन निर्माण गर्न दबाब दिइरहेको अवस्थामा हाम्रो अभिभावकबाट सहयोगपूर्ण आशामा विश्वस्त थियौं । तर, हामीले अभिभावकत्व मान्दा मान्दै पनि आगामी दिनमा यस प्रकारको गैर जिम्मेवारपूर्ण अभिव्इक्तिका कारण हाम्रो शान्तिपूर्ण विरोध कार्यक्रमहरु उत्तेजित भइर अस्पतालको सेवामा कुनै असर परेमा त्यसको जिम्मा सम्बन्धित पक्षले लिनुपर्नेछ ।’ अर्कातिर, अस्पतालमा गत साता भएको कुटपिटलाई लिएर बुधबार मात्रै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा बनेको छानबिन समितिले बनाएको प्रतिवेदन सार्वजनिक भएको थियो । उक्त प्रतिवेदनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनालाई अस्पतालकै कमजोरीले भएको औंल्याइएको छ ।