NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोना नियन्त्रणका लागि जुम्लाका स्थानीय तहको तयारी

खलङ्गा । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि यसको नियन्त्रणका लागि जुम्लाका स्थानीय तहहरु पनि जुटेका छन् । महामारीको असर जुम्लामा पनि पाइएपछि यहाँका स्थानीय तहले तयारी तीव्र पारेका हुन् । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका आठवटै स्थानीय तहले कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएका छन् । अस्पतालमा पाँचदेखि ३० शय्यासम्मका अक्सिजनसहितका आइसोलेसन सेन्टर राखिएको छ । त्यसैगरी वडास्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमितसँग भेटघाट गर्ने, सङ्क्रमण भएकालाई स्वास्थ्य सामग्री उपलब्ध गराउने, पोषण तत्वसहित औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत् अस्पतालमा लैजाने जस्ता कार्य गरेको यहाँका स्थानीय तहका प्रमुखहरु बताउँछन् । कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा व्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा भने उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन् । तिला गाउँपालिकाले वडास्तरमै पुगेर स्वाब सङ्कलन गरिरहेको छ भने तीन ठाउँमा हेल्थ डेस्क स्थापनादेखि भारत तथा तेस्रो मुलुकबाट घर आउने स्थानीयवासीको तथ्याङ्क सङ्कलन गर्नका लागि सो गाउँपालिकाका नौवटै वडाका एक जना सूचना अधिकारी तोकेको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए। उनले भने, – ‘गाउँपालिकाले दश शय्याको कोभिड अस्थायी अस्पतालमा पाँच बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर स्थापना गरेका छौँ । गाउँपालिका भर ३० शय्याको आइसोलेसन सेन्टर स्थपाना गरी सञ्चालनमा ल्याएको छौँ । गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीका लागि आवश्यक औषधि खदिर गरीसकेको र सङ्क्रमितलाई चाहिने स्वास्थ्यका स्रोत साधन पनि खरिद गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले बताए । सदरमुकाम खलङ्गा बजार रहेको चन्दननाथ नगरपालिकाले उद्योग वाणिज्य संघ जुम्लाको सभाहलमा २५ शय्याको आइसोलेशन कक्ष तयार पारेको छ । होम आइसोलेसनमा बस्न नसक्ने कोरोना सङ्क्रमितलाई सो नगरपालिकाले नगरबासीका लागि शय्याको आइसोलेशन कक्ष तयार पारेको नगर प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने, – ‘आइसोलेसन कक्ष निर्माण गरिएको र त्यहाँ आवश्यक सबै सामान राखिएको छ । सामान्य लक्षण भएकालाई सो आइसोलेशनमा राखेर उपचार गर्न सकिन्छ ।’ नगरप्रमुख सेजुवालका अनुसार यी केन्द्रहरुमा खाना र बस्नका लागि राम्रो प्रबन्ध रहेको र चिकित्सक र स्वास्थ्यकर्मीको पनि निगरानी हुँदैछ । कोरोना संक्रमित भएर घरमा बसेकाहरुलाई आइसोलेशनमा आएर बस्न नगरपालिकाले परिपत्र गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कोरोनामुक्त नगरपालिका बनाउनको लागि निषेधाज्ञाको पूर्ण पालना गर्न सबै नगरबासीलाई आग्रह गरिएको नगरपालिका उपप्रमुख अप्सरादेवी महतले बताइन्। आइसोलेसनमा बस्ने सङ्क्रमितका लागि समय काट्न सहज होस् भनेर इन्टरनेट र टेलिभिजन पनि जडान गरिएको नगरपालिकाले जनाएको छ । उता होम आइसोलेशनमा बसेकाहरुको स्वास्थ्य अवस्था बुझ्न घरघरमै पुगेको नगरप्रमुख सेजुवालले बताए। सो नगरपालिकाले होम आइसोलेशनमा बसेका सङ्क्रमितहरुलाई भेट्न वडास्तरमा स्वास्थ्यकर्मीसहितको टोली समेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यहाँका स्थानीय तहले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । यहाँका सात गाउँपालिकाका अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएका हुन् । स्थानीय तहका ती कोभिड अस्पतालमा न्यूनतम तीन देखि ३० वटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक भएकोले सहज भएको बताइएको छ । यहाँको गुठीचौर गाउँपालिकामा पाँच वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखिएको छ भने २५ वटा सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उने भने, – ‘कोरोना सङ्क्रमितलाई चाहिने स्रोत साधन कोभिड अस्पतालमा राखिएको छ । चिकित्सक र अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा ल्याएपछि ढुक्कसँग बिरामीको उपचार गर्न सकिने अवस्था रहेको छ ।’ अहिलेसम्म अक्सिजन दिनुपर्ने बिरामी भर्ना भएका छैनन् तर बिरामी आए पनि अक्सिजनको अभाव हुन दिँदैनौ । लक्षणसहितका सङ्क्रमितको उपचारका लागि आवश्यक सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १० शय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ । हरेक शय्यामा एक एक अक्सिजन सिलिण्डर राखिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । हिमा गाउँपालिकामा तीन, तिलामा तीन, सिँजामा दुई र कनकासुन्दरी गाउँपालिमा पाँच वटा अक्सिजन सिलिण्डरसहित अस्पताल सञ्चालनमा ल्याइएको कनकासुन्दरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह रावतले बताए । पातारासी गाउँपालिकामा अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढ्थापाले बताए। उनले भने, – ‘गाउँमा लक्षण सहितका सङ्क्रमित छैनन् । लक्षण नदेखिएका सङ्क्रमित भएकोले होम आइसोलेसनमा बसेका छन् । गम्भीर प्रकृतिका बिरामी देखिएमा कोभिड अस्पतालमा लगिन्छ भेण्टिलेटरमा आवश्यक परे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनको लागि कोभिड एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका हरेक स्थानीय तहमा एक एक जना चिकित्सक खटाएको प्रतिष्ठानले जनाएको छ । यहाँका स्थानीय तहमा न्यूनतम २५ देखि अधिकतम ५० शय्यासम्मका आइसोलेशन सेन्टर निर्माण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले अक्सिजन अभावलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन बैँक स्थापना गर्ने जनाएको छ । सहयोगी निकायबाट प्राप्त हुने अक्सिजन र खाद्यन्नको बैँक बनाएर केन्द्रको निर्णय बमोजिम वितरण गर्ने निर्णय जिल्ला प्रशासन कार्यालय जुम्लाले गरेको छ ।