NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अमेरिकाले विश्वका विभिन्न देशलाई दुई करोड ५० लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं । अमेरिकाले विश्वका विभिन्न मुलुकलाई दुई करोड ५० लाख बराबरको कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति जो बाइडेनले खोप उपलब्ध गराइने मुलुकसँग कुनै पनि किसिमका राजनीतिक स्वार्थ नराखिने बताएका छन् । अमेरिकाले एक करोड ९० लाख खोप कोभ्याक्स कार्यक्रममार्फत वितरण गर्ने भएको छ । जसमध्ये ६० लाख डोज खोप ल्याटिन अमेरिका र क्यारिबियनमा पठाइनेछ भने ७० लाख डोज दक्षिण र दक्षिणपूर्वि एसियामा पठाइनेछ । त्यस्तैगरि ५० लाख डोज खोप अफ्रिका पठाइने जनाइएको छ । अमेरिकाले नेपालमा पनि कोभ्याक्स कार्यक्रमार्फत नै खोप वितरण गर्ने भएको छ । बाँकी ६० लाख डोज खोप अमेरिकाले सिधै क्यानडा, मेक्सिको, भारत र दक्षिण कोरियामा पठाउने भएको छ । आफ्नो फाइदाका लागि नभएर महामारीलाई विश्वबाटै परास्त पार्नका लागि यो सहयोग अघि बढाएको राष्ट्रपति बाइडेनले प्रष्ट पारेका छन् । खोप वितरणको प्रक्रिया चाँडो भन्दा चाँडो सुरु गर्ने अमेरिकाले जनाएको छ । केही ठाउँमा भने हिजोबाटै वितरण सुरु भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । अमेरिकाले सहयोग गर्ने खोपमा फाइजर, मोर्डना र जोन्सन एण्ड जोन्सन हुनेछ । उक्त दुई करोड ५० लाख खोपमा एष्ट्रेजेनिकाको आपूर्ती नहुनेपनि राष्ट्रपति कार्यालयले जनाएको छ । हाल अमेरिकासँग रहेको ६ करोड डोज एष्ट्रोजेनिका कम्पनीको खोपले स्वीकृति पाइसकेको छैन ।