NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

खोप खरिदमा अझैं उल्झन, अनुदानकै भरमा अभियान

काठमाडाैं । गत माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप बारे जानकारी दिन राखेको कार्यक्रममा स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले नेपाललाई खोप खरिदमा कुनै जटिलता नभएको बताएका थिए । उनले सरकारले खोप खरिदको प्रक्रियालाई तिव्र रुपमा सञ्चालन गर्ने सरकारले भनेअनुसार देशका ७२ प्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिएका थिए । तर, स्वास्थ्यमन्त्रीको भनाइ आएको पाँच महिना बितिसक्दा पनि सरकारले भारतबाट २० लाख खोप खरिद बाहेक अन्य खरिदको काम गर्न सकेको छैन । सार्वजनिक रुपमा खोप खरिदको प्रक्रिया अघि बढेको बताइए पनि औपचारिक रुपमा हालसम्म कुनै पनि देशसँग खोप खरिदको लागि सम्झौता नभएको मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए । स्वास्थ्य मन्त्रीले खोप खरिदमा जटिलता नहुने घोषणा गरेको पाँच महिना बितिसक्दा पनि खोप खरिद प्रक्रिया बोलीमै मात्र सिमित भएकाले दीर्घकालीन रुपमा पनि नेपाल अनुदानकै खोपमा भर पर्नुपर्ने देखिएको छ । हालसम्म सरकारले सञ्चालन गरेको खोप अभियानमा २१ लाख १३ हजार ८० जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् भने ७ लाख ४१ हजार ६३ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । भारत र चीन गरि हालसम्म नेपालमा अनुदान र खरिद गरि कुल ४२ लाख ४८ हजार डोज खोप आएको छ, जसमा भारतमा २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको छ भने चीनबाट १८ लाख डोज खोप प्राप्त भएको छ । चीनबाट नेपाललाई प्राप्त भएको सम्पूर्ण खोप अनुदानमै आएको हो । यता भारतबाट प्राप्त भएको खोपमा भने सरकारले भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये नेपाल आएको १० लाख खोप खरिद गरिएको हो भने बाँकी १४ लाख ४८ हजार खोप अनुदान तथा कोभ्याक्स कार्यक्रम मार्फत प्राप्त भएको छ । कोरोना महामारीको दोस्रो लहरबीच चिकित्सक तथा जनस्वास्थ्यका विज्ञहरुले खोपको आवश्यकतालाई पहिल्याइरहँदा सरकारले भने लामो समय बित्दा पनि आफैंले खोप खरिद गर्न सकेको छैन । विभिन्न देशबाट अनुदानकै रुपमा प्राप्त खोपकै भरमा नेपालमा खोपको अभियान चलाइएको छ । सरकारले खोप खरिद गरेर नागरिकको पहुँचमा ल्याइ फैलिरहेको कोरोना महामारीको दोस्रो लहरलाई नियन्त्रण गर्ने र तेस्रो लहरमा दोस्रोको जस्तो क्षति हुन नदिने तयारीमा जुट्नु पर्ने बेला राष्ट्रपति नै विभिन्न राष्ट्रलाई पत्रचार गरि खोप दिनको लागि अनुरोधमा जुटेकी छिन् । यता सरकारी संयन्त्रहरु खरिद गर्दा खोप नपाएको बताइरहेका छन्, जबकी तीनै कम्पनीले नेपाललाई अनुदानमा खोप उपलब्ध गराइरहेको छ । राष्ट्रपतिको सक्रियताले अनुदानमा खोप पछिल्ला केही दिनयता राष्ट्रपति विद्यादेवी भण्डारी निरन्तर कोरोनाविपरुद्धको खोपका लागि विभिन्न देशका समकक्षीहरुसँगको वार्तामा छिन् । चीनका समकक्षीसँगको वार्तापछि हाल नेपाललाई चीनले १० लाख डोज खोप दिइसकेको छ । चीनबाट आएको खोपको प्रयोगसमेत सुरु भइसकेको छ । चीनले जस्तो राष्ट्रपति भण्डारीले भारत, अमेरिका, रुस तथा बेलायतसँगसमेत कुटनितिक पहल गरिरहेकी छिन् । राष्ट्रपति भण्डारीले भारतसँग खरिद गरिएको खोप पठाउनका लागि समेत भारतका समकक्षीलाई पत्राचार गरेकी थिइन् । १० जेठमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले हालसम्म नेपालमा अनुदानको रुपमा कुल ३२ लाख ४८ हजार खोप प्राप्त भएको बताएका थिए । अनुदान तथा सरकारले खरिद गरेको खोपमार्फत हालसम्म यो मात्रामा खोप नेपाल आएको उनको भनाइ थियो । हाल चीनबाटसमेत अनुदानको खोप नेपाल आएसँगै नेपालमा हालसम्म ४२ लाख ४८ हजार डोज खोप प्राप्त भएको छ । यीमध्ये भारतबाट अनुदानको रुपमा १० लाख डोज कोभिसिल्ड नेपालले पाएको छ भने कोभ्याक्स कार्यक्रम अन्तर्गत भारतबाटै ३ लाख ४८ हजार खोप नेपालले पाएको छ । नेपालले भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरेको २० लाख खोपमध्ये १० लाख खोप नेपाल आइसकेको छ भने बाँकी १० लाख खोप पटक पटकको आग्रह हुँदा पनि नेपाल आएको छैन । यस बाहेक सिरम इन्स्टिच्युटले नेपाली सेनालाई १ लाख डोज खोप अनुदानमा दिएको छ । यता चीनले पहिलो पटक लाख हजार र दोस्रो पटक १० लाख गरी कुल १८ लाख डोज खोप नेपाललाई अनुदानको रुपमा दिएको छ । भारत र चीनबाट हालसम्म नेपाललाई अनुदानमा ३२ लाख ४८ हजार डोज खोप प्राप्त भएको छ भने खरिद गरेको १० लाख डोज खोप प्राप्त भएको छ । हालसम्म प्राप्त खोपमध्ये २३.५४ प्रतिशत खोप मात्रै खरिद मार्फत पाएको छ । सरकारको ढिलाइले नागरिकको स्वास्थ्यमा खेलबाड : जनस्वास्थ्यविद् जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी सरकारले अनुदानकै भरमा खोप अभियान चलाउँदा जनताको स्वास्थ्यमाथि खेलबाड भएको बताउँछन् ।सरकारले खोप खरिदमा गम्भिरता नदेखाउँदा नागरिकले समयमा नपाएको र यसको प्रभावकारिता पनि कम हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । उनले भने, ‘दैनिक धेरै मान्छेले फोन गरेर खोपको दोस्रो डोज लगाउने समय ढिलो भयो, अब के गर्ने भनेर सोध्नुहुन्छ । सरकारले खोप खरिदमा चुस्तता नदेखाउँदा महामारी नियन्त्रणमा लापरबाहीदेखि नागरिकको स्वास्थ्यमा खेलबाड भइरहेको छ ।’ दोस्रो लहर सुरु हुनुअगावै समयमा खोप लगाउन सकेको भएमा अहिलेको क्षति नहुने बताउँदै डा. मरासिनी थप्छन्, ‘मास्क लगाएर हुने भए किन खोप आवश्यक हुन्थ्यो ? अहिले त क्षति भयो, अब यहि क्षतिलाई दोहोरिन नदिन अनुदानमा मात्रै होइन, खोप खरिद गर्नतर्फ सरकार गम्भिर हुनुपर्छ ।’ खोपमा ढिलाइ सरकारले खोप खरिद प्रक्रियालाई चुस्त रुपमा सञ्चालन गर्न नसक्दा पहिलो डोज खोप लगाएका कतिपयले दोस्रो डोज खोप लगाउन पाएका छैनन् भने कतिपय अवस्थामा खोप अभियानलाई नै रोक्नुपर्ने अवस्थासमेत आएको छ । भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको कोभिसिल्ड खोप समयमा नआउँदा गत चैतमा केही समयलाई खोप अभियान रोकिएको थियो । अग्रिम भुक्तानी गर्दा समेत वितरकले खोप नदिएपछि दोस्रो डोज खोप लगाउनुपर्ने अवधिमा केही ढिलाई समेत भएको थियो । हाल सरकारले खोपको खरिद प्रक्रियामा चुस्तता नदेखाउँदा पनि यस्तै समस्या आइपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलकाअनुसार हाल १४ लाख मानिस कोभिसिल्डको दोस्रो डोज खोप लगाउन बाँकी छन् । मन्त्रालयका अनुसार दोस्रो डोज खोप १६ हप्तामा उपलब्ध गराउन नसकिएलाकी भन्ने डर समेत छ । सरकारले ठोस रणनिती र कार्ययोजना नबनाएका कारण खोप खरिद हुन नसकेको र अनुदानकै भरमा अभियान चलाएर महामारीबीच पनि जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको डा. मरासिनीले बताए । सरकार किन्न तयार, तर खोप अभाव : स्वास्थ्य मन्त्रालय सरकारले खोप खरिद गर्न चाहेपनि विश्वबजारमा माग बढि भएका कारण उत्पादनले थेग्न नसकेकाले नेपालले नपाएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए । निजी क्षेत्रदेखि सरकार आफैंले खोप खरिद गर्न चाहँदा चाहँदै पनि खोपको उपलब्धता नहुँदा खरिद गर्न नसकेको उनी बताउँछन् । उनले भने, ‘खोप खरिद नहुँदासम्म अनुदानको खोपमा हामी निर्भर भएका छौं । तर, खोप अभियानलाई अनुदानकै भरमा चलाइएको छ भन्न अलि मिल्दैन । ’ अर्कातिर, अन्य देशसँग खोप खरिद गर्ने प्रक्रियामा कुनै काम नभएको गौतमले बताए । उनले भने, ‘खरिदको प्रक्रियामा केही काम भएको छैन । हिजो अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप दिने सुचिमा राखेका छौं भन्ने जानकारी दिएको छ । त्यो बाहेक अहिले खोप खरिदको प्रक्रियामा केही काम भएको छैन ।’ सरकारले खोप उत्पादक सबै कम्पनीहरुलाई ५० लाख डोज खोप खरिद गर्न सक्ने भन्दै पत्रचार गरेको छ । तर, कुनै पनि कम्पनी वा मुलुकबाट औपचारिक तथा आधिकारिक रुपमा निर्णय नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन् । सरकारले भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरेको १० खोप नआएपछि अन्य कम्पनीहरुलाई पत्रचार गरिसकेको छ भने खोप खरिदको लागि रकम बिनियोजन समेत गरिसकेको पौडेलले बताए । खोप गरिदको लागि पटक पटक पत्राचार हुँदा पनि खोप नपाउनुको कारण उत्पादनको अभाव भएको उनी बताउँछन् । उनले भने, ‘चीन, रसियादेखि अन्य देशका उत्पादक कम्पनीहरुलाई खोप खरिदका लागि हामीले पत्रचार गरेका छौं । व्यवस्थापन महाशाखाले पनि पत्राचार गरेको छ । खोपका लागि हामी अनुदानकै भरमा छौं भन्न मिल्दैन ।’

ताजा अपडेट

नेपालवाच विशेष