NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राप्ती नगरपालिकाले बालविवाह रोक्न अभियान सञ्चालन गर्ने

चितवन । राप्ती नगरपालिकाले चेपाङ समुदायमा बालविवाह रोक्न अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती समुदायको बसोबास छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा १० हजारभन्दा बढी चेपाङ छन् । नगरप्रमुख प्रभा बरालका अनुसार ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायमा बालविवाह रोक्न विशेष अभियान सञ्चालन गरिने भएको छ । चेपाङ समुदायमा ११ वर्षदेखि नै विवाह हुने गरेको छ । नगरपालिकाले आगामी वर्षका बजेटमा २० वर्ष पुगेर विवाह गर्नेलाई प्रोत्साहनका कार्यक्रम राख्ने तयारी समेत गरेको छ । चेपाङ युवतीले २० वर्ष पुगेपछि विवाह गरेमा भने सम्मानसँगै आर्थिक सहयोग गरिने योजना रहेको नगरप्रमुख बरालले बताइन् । उमेर नपुगि विवाह गरेकाको विवाह दर्ता नगर्ने र आवश्यक सहयोग पनि नगरपालिकाले नगर्ने जनाएको छ । नगरपालिकाले ती ग्रामीण क्षेत्रमा चेपाङका लागि दुई छात्रावास सञ्चालन गरेको छ । ती छात्रावासमा अध्ययन गर्ने छात्राहरु परीक्षाको समयमा विवाहको लागि भागेर जाने गरेको उनले बताइन् । नगर उपप्रमुख ईमासिंह लामाले चेपाङका बालबालिकाहरुको विद्यालय भर्ना दर शतप्रतिशत बनाईएको भए पनि विद्यालय छोड्ने दर भने घटाउन कठीनन भएको बताए । उनले भने, – ‘हामीले छात्रावास, विद्यालय खाजा जस्ता आकर्षक कार्यक्रम ल्याएका छौं, तर पनि विद्यालय छोड्ने समस्या रोकिएको छैन ।’ चेपाङ सामुदायको शिक्षाको स्तर माथि उठाउन नगरपालिका लागि परेको उनको भनाई छ ।