NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

टेकु अस्पतालबाट अनुप बास्तोला भन्छन्- कोरोना सामान्य छ भनेर नबस्नुस् अस्पताल आउनुस्

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड फोकल पर्सन डा. अनुप बास्तोलाले कोरोना संक्रमितको संख्या विगत तीन हप्ताको तुलनामा केही कम र स्थिर भए पनि जोखिम अझै रहेको बताएका छन् । बिरामी बढ्दा एकैदिन इमर्जेन्सीमा पाँच जनाकोसम्म मृत्यृ भएको भन्दै अब अवस्था केही सहज हुँदै गएको बताएका हुन् । तर जोखिम र संक्रमणको क्रम काठमाडौं बाहिर पनि उत्तिकै रहेको भन्दै उनले सचेत रहन आग्रह गरेका छन् । ‘दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं । दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो’ बास्तोलाले सामाजिक संजालमा लेखेका छन्, ‘खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६(७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ । बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।’