NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

राउटे युवतीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

सुर्खेत । प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लील क्रियाकलाप गर्ने तीन जनालाई आइतबार सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । पुन होटल सञ्चालकसमेत हुन् । उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुर्व्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लील क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषी युवामाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए। पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ । राउटे नेपालकै एक मात्र फिरन्ते समुदाय हो । गुर्भाकोट ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ संख्यामा छन् ।