NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अझै बनेनन् पहिलो पीडितका घर

कालिकोट । गत वर्षको बर्खायाममा बाढीपहिरामा परेर घरबारविहीन भएका कालीकोटका पहिरोपीडितका अझै घर बन्न सकेका छैनन् । पहिराबाट घरबारविहीन भएकालाई प्रदेश सरकारले आवासका लागि रकम दिएको भए पनि उनीहरुको जग्गा नहुँदा घर बन्न नसकेका हुन् । गत वर्ष बर्खाको पहिराले कालीकोटमा एक हजार १४४ घरमा क्षति पुर्याएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार नरहरिनाथ गाउँपालिकामा २९१, रास्कोट नगरपालिकामा ३६१, शुभकालिका गाउँपालिकामा १३४, खाँडाचक्र नगरपालिकामा ७२, पचालझरना गाउँपालिकामा ५०, तिलागुफा नगरपालिकामा ३८, सान्नी त्रिवेणी गाउँपालिकामा १९२ र महाबै गाउँपालिकामा छ घरपरिवार पहिराबाट विस्थापित भएका थिए । पहिराबाट घरबारविहीन भएका प्रतिपरिवार आवास निर्माणका लागि प्रदेश सरकारले रु तीन लाखका दरले रकम दिएको भए पनि कसैको जग्गा नहुँदा आवास निर्माणमा समस्या भएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘विस्थापित भएकामध्ये प्रदेश सरकारको सहयोगमा ५० परिवारका लागि आवास थालिएको छ, बाँकी परिवारलाई बजेट अभावमा पुनस्र्थापनाको प्रक्रियासमेत शुरु गर्न सकिएको छैन्’, उनले भने, ‘प्रदेश सरकारले पठाएको रु एक करोड ५० लाखबाट प्रतिघर रु तीन लाख पर्ने गरी घर निर्माणको काम भइरहेको छ, अरू परिवारलाई त बर्खामा पनि पाल, छाप्रो र छिमेकीको गोठमै बस्ने बाध्यता छ ।’ निर्माणधीन घर पनि निर्माण सामग्री अभावमा अझै अधुरै रहेको अध्यक्ष विष्टले जानकारी दिए । रास्कोट नगरपालिकामा त पहिरो पीडितका लागि घर निर्माण अझै शुरु भएको छैन । कर्णाली प्रदेश सरकारले रु तीन करोड ३० लाख बजेट दिए पनि सुरक्षित बस्ती बसाल्न ठाउँ छनोटको यकिन नहुँदा काम शुरु हुन नसकिएको रास्कोटका उपप्रमुख मिमसरा बमले जानकारी दिइन् । ‘एकीकृत बस्ती बसाल्ने नगरपालिकाको योजना रहेको छ”, उनले भनिन्, ‘जग्गाको छनोट गर्न नसक्दा बस्ती बसाल्न समस्या भएको हो ।’ पहिराको कारणले घर बगाएकाहरु अहिले अर्काको घरको गोठमा आश्रय लिएर बस्नुपर्ने बाध्यता छ । घर बाढीपहिराले लगेका कारणले सात महिनादेखि छिमेकीको गोठमा बस्दै आएको नरहरिनाथ–४ तल्लो गोठीकी सुन्तला दर्जीले बताइन् । ‘छिमेकीको गोठमा बस्न थालेको सात महिना पुग्यो, गत वर्ष साउनमा पहिराले घर बगाएपछि परिवारका नौ सदस्य गोठ बस्ने गरेका छौँ’, उनले भनिन् । पहिराले घर बगाउँदा शुरुका तीन महिना त पाल टाँगेर बसेको र चिसो बढ्दै गएपछि छिमेकीको गोठमा बस्न थालेको दर्जीले बताइन् । ‘चिसोले सबै परिवार बिरामी पर्न थालेपछि छिमेकीको गोठमा बस्न थालेका हौँ’, उनले थपिन्, ‘अहिले पनि त्यो त्रासदी सम्झेर डर लाग्ने गरेको छ ।’ साउनमै पहिराले घर बगाएपछि सोही गाउँका धनसुर बुढाको परिवार पनि छिमेकीको गोठमा बसेको छ । जग्गाको समस्याले घर बनाउन नसकिएको बुढाले बताए । ‘अहिलेसम्म त जेनतेन बाँचिएकै छ, बर्खा शुरु भएपछि गोठमै पानी पस्ला भन्ने चिन्ताले सताइरहन्छ’, उनले भने, ‘अहिलेसम्म न घर बनाउन सकिएको छ, न त राम्रो बासको व्यवस्था भएको छ ।’ रासस