NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तीन वर्ष कैद

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य सस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । चौतर्फी दवाबपछि सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरी अध्यादेश जारी गरेको हो । स्वास्थ्य मन्त्रालयले मस्यौदा तयार पारी मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त अध्यादेशमा अध्यादेशमा स्वास्थ्यकर्मी र स्वास्थ्यसंस्थामाथि आक्रमण गर्नेलाई तीन वर्षसम्म कैद सजाय दिने व्यवस्था गरिएको बताइएको छ । के छ अध्यादेशमा ? जारी अध्यादेश (स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन–पहिलो अध्यादेश), २०७६) मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ४ लाई परिवर्तन गरि नयाँ व्यवस्था गरिएको छ । मूल ऐनमा हातपात, तालाबन्दी तथा तोडफोड गर्न नहुने शिर्षकमा व्यवस्था गरिएको कानुनलाई परिवर्तन गर्दै शंसोधनका लागि प्रस्तावित मस्यौदामा हातपात, तालाबन्धी वा तोडफोड गर्न वा उपचारमा बाधा पार्न नहुने शीर्षकमा कानुन व्यवस्था गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ मा दफा ३ मा स्वास्थ्य उपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न नहुने र स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा यस्तै अन्य कुनै कार्य गर्न नहुने व्यवस्था गरिएको थियो । संशोधित व्यवस्थामा स्वास्थ्यर्की वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्न, हातपात गर्न वा शारीरिक रुपमा आघात पुर्याउन नहुने, स्वास्थ्यकर्मी ता स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुनै किसिमको धम्की दिने, मानसिक तनाव दिने वा अपमान जनक व्यवहार गर्न नहुने, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्न नहुने र कुनै किसिमको स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्याउन नहुने उल्लेख गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा नर्ससँगै अन्य कर्मचारीलाई पनि समावेश गरिएको छ । मूल ऐनमा भएको सजाय व्यवस्थालाई परिवर्तन गर्दै हालको ऐनमा कसैले पनि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी (चिकित्सक, नर्सलगायत)माथि ऐनको दफा २ को खण्ड (क) वा (ग) मा गर्न नहुने उल्लेख गरिएका कार्यहरु गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना र चारवर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तै, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुनै पनि किसिमको धम्की दिने, मानसिक तनाव दिने वा अपमानजनक व्यवहार गर्नेलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा गरिएको छ । ऐनमा स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचारमा बाधा पुर्याउनेलाई बीस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । पटकपटक स्वास्थ्यकर्मीहरुमा माथि आक्रमण भइरहेकाले पनि अध्यादेश जारी भएपछि दोषीले आवश्यक कारबाही पाउने स्वास्थ्यकर्मीकाे विश्वास छ । याे पनि पढ्नुहाेस्: स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाका लागि प्रस्तावित अध्यादेश : आक्रमण गर्नेलाई चार वर्षसम्म कैद