NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सामुदायिक वनमा काठ चोरी बढ्यो

कैलाली । कैलालीका सामुदायिक वनमा काठ चोरीका घटना बढेका छन् । यहाँ लकडाउन भएको ३७ दिन पुगेका छ । लकडाउनको समयमा सबै मानिस घरभित्रै बस्ने भएकाले तस्कर तथा चोरीमा संलग्नहरु वन ताक्न थालेको गुनासो वनकर्मी नै गर्न थालेका छन् । यतिबेला सामुदायिक वनमा वन हेर्नेले गस्ती गर्न नसकेका कारण काठ चोरीका घटना बढेका छन् । कोरोना सङ्क्रमणका कारण सामुदायिक वन संरक्षणसँगै अन्य गतिविधि गर्न नसकेको सामुदायिक वनका पदाधिकारी बताउँछन् । वन हेरालु दिउँसोका समयमा गस्ती गर्ने भएकाले दिउँसोभन्दा रातिको समयमा सामुदायिक वनमा काठ चोरी भइरहेको बताइएको छ । काठ चोरी गर्नेहरु योजना बनाएर रातिको समयमा आउने भएकाले नियन्त्रणमा समस्या भएको शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम विश्वकर्माले बताए । ‘रातिको समयमा वनमा काठ चोरीका घटना बढेका छन्, रातिको समयमा गस्ती गर्न समस्या भएको छ’, अध्यक्ष विश्वकर्मा भने, – ‘विपत्ति तथा महामारीको समयमा तस्कर सल्बलाएका छन् ।’ कैलालीको जगतपुर सामुदायिक वनमा केही दिनअघि सयौँ क्युफिट काठ चोरी भयो । तस्करको समूहले सयौँ क्युफिट काठ काटेको सूचना स्थानीयवासीले दिएपछि तस्करले काटेको काठ वन समितिले नियन्त्रणमा लिएर घाटगद्दी गरेको छ । ‘काठ चोरीबारे अनुसन्धान भइरहेको छ, लकडाउनको मौकामा चोरीका घटना बढेका छन्, सामान्य चोरीका घटना अन्य बेला पनि भइरहन्छन्’, जगतपुर सामुदायिक वनका अध्यक्ष रेशमलाल चौधरीले भने, – ‘संरक्षण समिति र वन हेरालुले नियमित गस्ती गरेका छन्, अब उपभोक्ताको सहयोग लिएर गस्ती थप बढाउने योजनामा छौँ ।’ नियमित सचेतना र नियमित हेरालुको गस्ती गरिरहेको चेतना सामुदायिक वनमा भने अहिले चोरीका घटना नभएका अध्यक्ष बलबहादुर रावलले बताए । ‘हाम्रो वनमा बर्सातको समयमा नदीमा काठ बगाएर चोरी गर्ने सक्रिय हुन्छन्, बर्सातमा वनमा काठ चोरीका घटना बढ्छन्’, अध्यक्ष रावलले भने, – ‘नदीमा पानीमा काठ बगाएर चोरी गर्नेलाई नियन्त्रण गर्न चुनौती छ, यसबारेमा समेत वन समितिमा छलफल गर्ने भएका छौँ, कोरोना सङ्क्रमण फैलिएपछि सामुदायिक वनका अन्य गतिविधि सञ्चालनमा समेत समस्या भएको छ ।’ त्यस्तै महिला जागृति सामुदायिक वनले बर्सातको समयमा हुने वन कटानी रोक्नका लागि तटबन्ध गर्ने योजना बनाएको थियो । महामारीका कारण तटबन्धको काम गर्न नसेकेको अध्यक्ष चन्दा विकले बताइन् । ‘यो समयमा गाउँमा मानिस फुर्सदिला भएर वनजङ्गल जान थाल्दा चोरीका घटना बढ्न सक्ने भएकाले हामीले गस्ती बढाएका छौँ’, उनले भनिन्, – ‘हाम्रो वनमा सबै महिला भएकाले पनि चोरीका घटना अन्य वनको तुलनामा कम हुन्छन् ।’ लकडाउन भएपछि नागरिक बजारतिर हिँड्न नपाउँदा सामुदायिक वन, नदी तथा खोलातिर जान थालेको सब डिभिजन वन कार्यालय लम्कीका सहायक वन अधिकृत सोमलाल घलानले बताए । कैलालीमा ५७६ सामुदायिक वन छन् । त्यसमध्ये ६४ वन महिलाले नेतृत्व गरेका छन् । अझै झण्डै १५० सामुदायिक वन प्रस्तावित अवस्थामा छन् । महिलाले नेतृत्व गरेका वनको तुलनामा पुरुषले नेतृत्व गरेका वनमा चोरीका घटना बढेका छन् । वनको स्रोत र कोष परिचालनमार्फत सामाजिक विकासका क्षेत्रमा समेत सामुदायिक वनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । बेत संकलन गर्न नपाउँदा लाखौँ घाटाटीकापुर नगरपालिका–७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक वनले यस वर्ष बेत सङ्कलन गर्न नपाउँदा लाखौँको घाटा भएको छ । नेपालमै बेतबाँसका नामले परिचित सामुदायिक वनले कोरोना महामारीपछि भएको लकडाउनका कारण संकलन गर्न नपाएको हो । बेत कटानी शुरु गरेको सामुदायिक वनले लकडाउनपछि कटानी कार्य निरन्तर गर्न सकेन । ‘करीब एक हजार ३०० क्विन्टलमात्र बेत काट्न भ्याइएको थियो, त्यसपछि लकडाउन भयो’, वन समितिका अध्यक्ष धनसिंह साउँदले भने, – ‘कोरोना महामारी समुदायस्तरमै फैलिएपछि भएको निधेषाज्ञाका कारण भीडभाड गर्न नमिल्दा बेतको कारोबारसमेत गर्न पाइएन ।’ वन समूहले यस वर्ष तीन हजार २०० क्विन्टल बेत काट्ने लक्ष्य लिएको थियो । ‘कटानी चलिरहेकै समयमा लकडाउन हुँदा कामदारसमेत काममा आउन समस्या भयो, समुदायमा सङ्क्रमण फैलिएकाले जोखिम पनि थियो, अब त बर्खा लागिसक्यो’, अध्यक्ष साउँदले भने, – ‘यस वर्ष हामीलाई रु ३६ लाखसम्म घाटा लाग्छ, सामुदायिक वनले स्थानीयस्तरमा बिक्री भएर बचेको बेत लिलामी पक्रियामा बेच्ने गरेको थियो, लिलामी प्रक्रियामा पनि बेत प्रतिकिलो रु ६० देखि ६५ सम्ममा बिक्री गर्ने गरेका थियौँ ।’ कोरोना महामारीका कारण बेत कटानी गर्न कामदारसमेत आउन नसकेपछि यस वर्ष उत्पादन भएको बेत खेर जाने भएको हो । जसले कामदार र वन समिति दुवैलाई घाटा भएको छ । वन समितिको आम्दानी घटेपछि यसले अन्य क्षेत्रमा समेत प्रभाव पार्ने स्थानीयवासीको भनाइ छ । सामुदायिक वनले चार प्लटमा बेत विस्तार गरेको छ । जिल्ला वन कार्यालयसँग वर्षेनि एउटा प्लटको अनुमति लिएर बेत काट्ने गरेको वन समितिले अर्को वर्ष यस वर्ष कटानी शुरु गरेको प्लटको बेत काट्न पाउँदैन ।